काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेत सुनसरीको इटहरीमा पुगे पछि जेनजीहरुले सुनसरीको दुहबीमा पनि प्रदर्शन गरेका छन् ।उनीहरुले बस्नेतलाई जान नदिने भन्दै प्रदर्शन थालेका हुन् । बस्नेत र एमाले नेता भानुभक्त ढकाल सवार भएको गाडी क्रस भइसकेपछि दुबहीमा स्थानीय युवाहरुले टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरुबिरुद्ध नाराबाजी गर्दै युबाहरु प्रदर्शनमा उत्रिएका छन्। त्यस अगाडी बस्नेत सवार गाडीमा जेनजीहरुले रातो मसी छ्यापेका थिए ।
बस्नेत युवा संघको कार्यक्रममा सहभागी हुन आज बिहान इटहरीतर्फ जाने क्रममा युवाहरूले उनी सवार गाडी रोकेर रातो रङ छ्यापेका हुन् । हत्याराको चेलो मुर्दाबाद लगायतको नारा लागेको थियो । उक्त घटनामा संलग्न २ जनालाई पक्राउ गरिएको मोरङकी डीएसपी कोपिला चुडालले बताइन् ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– २ का १९ वर्षीय अर्पित कुँवर र १ नम्बर वडाका २५ वर्षीय सञ्जोग गौतम छन् । इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानका लागि बस्नेत काठमाडौंबाट बिहान आएका हुन् ।
बस्नेत सवार गाडीमा रातो मसी छ्याप्ने नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)मा आवद्ध विद्यार्थी रहेको खुलेको छ । पक्राउ परेका सञ्जोग गौतम नेपाल विद्यार्थी संघ मोरङका जिल्ला सदस्य हुन् । उनी संस्थापनइतर समूहका हुन् । गौतमलाई डाक्टर शेखर कोइराला समूहले महेन्द्र मोरङ क्याम्पस नेपाल विद्यार्थी संघ इकाइ सभापति पनि बनाएको थियो ।
बस्नेतले अलोकतान्त्रिक सरकारले पक्षपोषण गरेकाहरू अलोकतान्त्रिक र अराजनीतिक गतिविधिमा सक्रिय रहेको बताएका छन् । बस्नेतले अवरोधको सामना प्रतिरोधमार्फत गर्नुपर्ने बताएका छन् । बस्नेतले एमाले आलोचना सहने भए पनि अवरोध भने नसहने बताए । एमाले आलोचनालाई स्वीकार गर्ने पार्टी भएको बताउँदै उनले कमजोरी भए सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे तर बिना गल्ती अवरोध गरे प्रतिरोधमा उत्रिने पार्टीको सिद्धान्त रहेको समेत उनले स्पष्ट पारे ।
यस भन्दा अगाडी बस्नेत सिमरा जान खोज्दा समेत अवरोध भएको थियो । उनी सिमरा कार्यक्रममा जान खोज्दा जेनजीहरुले सिमरा एपोर्टमै प्रदर्शन गरेका थिए । उनीहरुले प्रदर्शन गर्दा एमाले कार्यकर्ता संग झडप समेत भएको थियो । २ लिन त बारा वप्रशासनले कफुर्र्यु समेत लगाउनु परेको थियो ।
पछिल्लो समय महेश बस्नेत जेनजीहरुको टार्गेटमा छन्। उनी जाने कार्यक्रममा जेनजीहरुले अबरोध गर्दै आएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्र बस्नेत सधैँ ओलीकै प्रतिरक्षामा जुटिरहेका हुन्छन् । त्यसैले पनि उनीमाथी जेनजी आक्रोसित छन् ।