काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध आज पनि कैलालीको धनगढीमा विरोध प्रदर्शन भएको छ। लगातार केही दिनदेखि बस्नेत पुगेका स्थान तथा कार्यक्रमहरूमा प्रदर्शनहरू हुन थालेका छन्। जेन–जेड (Gen-Z) युवाहरूले आज बिहान धनगढी बजारमा प्लेकार्ड लिएर विरोध प्रदर्शन गरेका हुन्।
पछिल्लो समयमा एमाले नेता महेश बस्नेतविरुद्ध जनताहरू आक्रामक देखिन थालेका छन्। विशेषगरी जेन–जेड युवाहरूले उनका हरेक कार्यक्रम अवरुद्ध गर्न थालेका छन्। आक्रामक रूपमा अभिव्यक्ति दिँदै आएका बस्नेत अहिले युवाहरूको आलोचनाको केन्द्र बनेका छन्। उनी प्रायः ओली र नेकपा एमालेको मात्र प्रशंसा गर्ने र ठोस काम नगर्ने आरोपहरू लागिरहेका छन्।
जेन–जेड आन्दोलनपछि कमजोर देखिएको एमाले अहिले निरन्तर आलोचनाको शिकार बन्न थालेको छ। एमालेको नाम सुन्नासाथ धेरैले आक्रोश प्रकट गर्न थालेका छन्। युवा संघको आयोजनामा विभिन्न कार्यक्रममा सहभागी हुन जाने गरेका बस्नेतविरुद्ध कहिलेकाहीँ प्रदर्शन, त कहिलेकाहीँ उनी चढेको गाडीमा रातो मसी छ्याप्ने जस्ता क्रियाकलाप भइरहेका छन्।
२३ र २४ गतेको जेन–जेड आन्दोलनपछि एमाले नेतृत्वको सरकार पतन भएको पृष्ठभूमिमा बस्नेत जेन–जेड युवाप्रति निकै आक्रामक रहँदै आएका छन्। त्यसको प्रतिक्रिया स्वरूप जेन–जेड समूहले पनि बस्नेतविरुद्ध निरन्तर प्रदर्शन गर्दै आएका छन्।
हिजो पनि सुर्खेतको वीरेन्द्रनगरमा बस्नेतविरुद्ध एक समूह युवाले प्रदर्शन गरेका थिए। प्रदर्शनमा सहभागीहरूले प्लेकार्डसहित नाराबाजी गरेका थिए। युवा संघको आयोजनामा वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा मंगलबार कार्यक्रम तय गरिएको थियो, तर कार्यक्रम सुरु हुनुअघि नै विरोध प्रदर्शन सुरू भएको थियो।
गत ४ मंसिरमा बाराको परवानीपुरमा आयोजित एक कार्यक्रममा बस्नेत सहभागी हुने जानकारी पाएपछि जेन–जेड युवाहरूले तीव्र विरोध प्रदर्शन गरेका थिए। त्यसका कारण दुई दिनसम्म बाराको सिमरा क्षेत्रमा अशान्ति फैलिएको थियो र स्थिति नियन्त्रणमा ल्याउन कर्फ्यु समेत लगाउनुपरेको थियो।
बस्नेतविरुद्ध जेन–जेड युवाले सुनसरीको दुहबीमा पनि विरोध प्रदर्शन गरेका थिए। महेश बस्नेत र एमाले नेता भानुभक्त ढकाल इटहरी जाने सूचना पाएपछि दुहबीमा स्थानीय युवाहरूले टायर बालेर विरोध गरेका थिए।
यसबीच, लगातार भइरहेका विरोध गतिविधिका कारण प्रहरीले बस्नेतको सुरक्षालाई लिएर हाई अलर्ट घोषणा गरेको छ। बस्नेतले आफूविरुद्ध भइरहेका विरोधप्रति असन्तोष व्यक्त गर्दै आएका छन्। जेन–जेडको नाममा अन्य दलका कार्यकर्ताले आफूविरुद्ध गलत गतिविधि गरिरहेको दाबी उनले गरेका छन्।