Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

एनपीएल- अपराजित सुदूरपश्चिमलाई लुम्बिनीको चुनौती, जनकपुर र पोखरालाई ‘पहिलो जित’को दबाब

एनपीएल- अपराजित सुदूरपश्चिमलाई लुम्बिनीको चुनौती, जनकपुर र पोखरालाई ‘पहिलो जित’को दबाब

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बिहीबार दुई खेल हुँदै छन्। 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा प्रतियोगिताको अपराजित टोली सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले चुनौती प्रस्तुत गर्दै छ। 

सुदूरपश्चिमले अहिलेसम्म खेलेका तीनवटै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अंकतालिकामा शीर्ष स्थान बनाएको छ । लुम्बिनीविरुद्ध मैदान उत्रिँदा सुदूरपश्चिम यही लय कायम राख्ने लक्ष्यमा हुनेछ । 

सुदूरपश्चिमले यसअघि काठमाण्डू गोर्खाजविरुद्ध २९ रनको, पोखरा एभेन्जर्सविरुद्ध १८ रनको र कर्णली याकक्सविरुद्ध ४५ रनको जित निकालेको थियो । 

यता, लुम्बिनी लायन्सको प्रदर्शन भने मिश्रित देखिएको छ । तीन खेल खेल्दा लुम्बिनीले एक जित र दुई हार व्यहोरेको छ । आजको खेलमा पनि हार व्यहोरे लुम्बिनीको प्लेअफ समीकरण कठिन बन्ने निश्चित छ । 

लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो । दोस्रो खेलमा कर्णाली याक्सविरद्ध नौ विकेटको र तेस्रो खेलमा काठमाण्डू गोर्खाजसँग २२ रनले पराजित भएको थियो ।

त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ । 

पहिलो जितको खोजीमा जनकपुर र पोखरा
दोस्रो खेलमा अघिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्ससँग खेल्दै छ । जनकपुर र पोखरा दुवै टिमले यस सिजनमा अहिलेसम्म जित निकाल्न सकेका छैनन् । दुवै टिमले यसअघि दुई खेल खेले पनि अझै जितविहीन छन् । 

जनकपुरले यसअघि पहिलो खेलमा काठमाण्डू गोर्खाजसँग पाँच विकेटको र दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध नौ रनको हार व्यहोरेको थियो । 

यता, पोखरा भने पहिलो खेलमा विराटनगरसँग ५३ रनले र दोस्रो खेलमा सुदूरपश्चिमसँग १८ रनले पराजित भएको थियो । 

त्रिवि मैदानमै हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।