Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

एनपीएलमा आज रोहितको लुम्बिनी र सन्दीपको विराटनगर भिड्दै

एनपीएलमा आज रोहितको लुम्बिनी र सन्दीपको विराटनगर भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)२२ औं खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन् । यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ ।

सन्दीप लामिछानेको कप्तानमा रहेको विराटनगर पाँच खेल खेल्दा ८ अंकसहित तेस्रो स्थानमा छ भने रोहित पौडेल कप्तान रहेको लुम्बिनी समान खेलमा चार अंकसहित छैटौं स्थानमा छ ।

आजको खेलमा विजयी भए विराटनगर एक खेल अगाडि नै प्लेअफमा पुग्नेछ भने प्लेअफको दौडमा सहभागी बन्न लुम्बिनीले आजको खेल जित्नै पर्ने दबाब छ।

२१ खेल सकिँदा अंक तालिका भने रोचक बनेको छ। अंक तालिकामा अपराजित सुदूरपश्चिम १० अंकसहित प्लेअफमा पुगिसकेको छ। एक खेल मात्र खेल्न बाँकी रहेको काठमाण्डुले दुई खेल गुमाएर ८ अंक बनाएको छ। पाँच खेलमा एक खेल गुमाएको विराटनगरको समेत समान ८ अंक रहेको छ। रनरेटका आधारमा काठमाडौं दोस्रो स्थानमा उक्लिएको छ भने विराटनगर तेस्रो स्थानमा छ।

पोखरा चार अंकसहित चौथो स्थानमा छ भने समान खेल खेलेका चितवन र लुम्बिनीको समान चार अंक छ।कर्णाली र जनकपुरको समान दुईदुई अंक छ। ६ खेल खेलिसकेको कर्णाली सातौं स्थानमा छ भने तालिकाको पुछारमा रहेको जनकपुरले दुई खेल खेल्न बाँकी छ ।

नपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुँदै छ।

एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ। प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।