काठमाडौँ । अख्तियार प्रमुख प्रेमकुमार राईसहित १० प्रभावशाली व्यक्तिलाई लक्षित गर्दै पठाइएका धम्कीपत्र र भिडियो तयार गर्ने मुख्य व्यक्ति प्रकाश पाठक फिलिपिन्समा रहेको खुल्न आएको हो। सुरक्षा निकायले ज्यान मार्ने धम्की प्रकरणको स्रोत विदेशबाट आएको पुष्टि गरेको छ।
अख्तियार कार्यालयमै पत्र र भिडियो पुगेपछि आयोगले काठमाडौँ प्रहरीलाई औपचारिक रुपमा उजुरी दिएको थियो। त्यसपछि सुरु भएको छानबिनमा नेपालमै रहेको पाठकका तीन सहयोगी नियन्त्रणमा लिइए। उनीहरूले आफू पाठकका बडिगार्ड भएको स्वीकारे पनि धम्की योजनामा प्रत्यक्ष संलग्नता अस्वीकार गरेका छन्। तर भिडियोमा उनीहरूसमेत देखिएकाले प्रहरीले आरोप गम्भीरतापूर्वक हेरेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा, तत्कालीन गृहमन्त्री रमेश लेखक, बालकृष्ण खाण लगायतलाई इमेलमार्फत ज्यान मार्ने धम्की आएपछि प्रहरीले यसबारे खोजी र अनुसन्धान अघि बढाएको हो।
‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नामबाट पठाइएको भनिएको उक्त पत्रमा अख्तियार प्रमुखसहित पूर्वप्रमुख लोकमानसिंह कार्की, कांग्रेस नेता रमेश लेखक, आरजु राणा देउवा, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वप्रहरी प्रमुखहरू तथा व्यवसायी दुर्गा प्रसाईँलगायत १० जनाको नाम समावेश छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै उनीहरूको सुरक्षा काठमाडौँ उपत्यकामा बढाइएको छ।
धम्कीले प्रहरीले केही व्यक्तिप्रति विशेष शंका गरेको छ। विशेषगरी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग सम्बन्धित मुद्दा अन्तिम चरणमा पुगेकै बेला धम्की आएको भन्दै अनुसन्धान अधिकारीहरूले सम्भावित लिंक खोजिरहेका छन्। अधिकारीसहित सात जनामाथि साढे १३ करोड रुपैयाँभन्दामाथिको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर भइसकेको छ।
यसअघि अधिकारीको आर्थिक अनियमिततामाथि रिपोर्टिङ गरेका पत्रकारलाई पनि धम्की परेको थियो, जसले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (IFJ) सम्मको ध्यानाकर्षण पाएको थियो।