काठमाडौँ । कांग्रेस महामन्त्री गगनकुमार थापालाई पार्टी संरचनाले फेरि एकपटक विभिन्न क्षेत्रबाट उम्मेदवारका रूपमा अघि सार्न थालेको छ। काठमाडौँ, धनकुटा र रोल्पाजस्तै सर्लाहीले पनि थापाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको छ।
कांग्रेस सर्लाहीका अनुसार थापालाई क्षेत्र नम्बर ४ बाट उम्मेदवार सिफारिस गरिएको हो। क्षेत्रीय समिति बैठकले प्रत्यक्षतर्फ थापासँगै मधेस प्रदेशसभा सदस्य वीरन्द्रप्रसाद सिंहलाई पनि सिफारिस गरेको छ।
यद्यपि चार दिनअघिमात्र मलंगवामा आयोजित कार्यक्रममा थापाले आफू यसपटक पनि काठमाडौँबाटै चुनाव लड्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए। थापा हाल काठमाडौँ क्षेत्र नम्बर ४ बाट लगातार विजयी हुँदै आएका छन्, र यसपटक पनि त्यही क्षेत्रबाट सर्वसम्मत सिफारिस पाएका छन्।
सर्लाही ४ मा २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका थिए। उनले २० हजार १७ मत ल्याउँदा कांग्रेसका नागेन्द्रकुमार रायले १८ हजार २५३ मत प्राप्त गरेका थिए।