काठमाडौँ । आगामी फागुन २१ को निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने मागसहित पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठसहितको टोलीले आज निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ। माग अनुसार, सर्वोच्च अदालतले २०७४ सालमै विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था गर्न निर्देशन दिएपछि आयोगले अब स्पष्ट प्रक्रिया लागू गर्नुपर्ने उनहरूको भनाइ छ।
ज्ञापनपत्रमा विदेशका दूतावासहरूले पनि आवश्यक निर्देशन आए मतदान सम्भव हुने चासो देखाएका उल्लेख छ।
यस्तै, देशभित्रै भए पनि गृह मतदान केन्द्र पुग्न नसक्ने मतदाताका लागि अस्थायी केन्द्रबाट मतदान गर्ने कानुनी प्रावधानलाई पूर्ण रूपमा कार्यान्वयन गर्न माग गरिएको छ। निर्वाचन कर्मचारी र सुरक्षाकर्मीलाई जस्तै सबैलाई पनि खटिएको स्थानबाट मतदान गर्न मिल्ने व्यवस्था माग गरीएको हो।
बायोमेट्रिक पहिचान र इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरेर विदेश तथा अन्तरजिल्लाबाट मतदान सम्भव बनाउने तयारी तत्काल अघि बढाउन आयोगलाई अपिल गरिएको छ।