काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको उपाधि भिडन्त आज हुँदै छ । पहिलोपटक उपाधि जित्ने होडमा रहेका सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आज आमनेसामने हुँदैछन् । फाइनल खेल त्रिवि क्रिकेट रंगशालामा दिउँसो साढे ३ बजेदेखि सुरु हुनेछ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल तथा उपकप्तान दीपेन्द्रसिंह ऐरीबीचको उपाधि भिडन्तका रूपमा पनि हेरिएको छ ।
सुदूर दीपेन्द्रको कप्तानीमा छ भने लुम्बिनी रोहितको कप्तानीमा छ । दुवै आफ्नो टोलीलाई उपाधि जिताउने लक्ष्यमा छन् । यी दुई टोलीमा जसले जितेपनि एनपीएलले नयाँ च्याम्पियन पाउनेछ ।
सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनल पुगेको हो भने लुम्बिनी लायन्स पहिलोपटक प्लेअफ पुगेर फाइनलसम्मकै यात्रा तय गरेको छ । पहिलो संस्करणमा फाइनल पुगेपनि सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो ।