काठमाडौँ । विदेशमा रहेका नेपाली नागरिकलाई अवैध वित्तीय कारोबार ‘हुण्डी’ बाट टाढा रहन दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासहरूले कडा चेतावनी दिएका छन्। दूतावासहरूले अनौपचारिक रूपमा विप्रेषण (रेमिटेन्स) पठाउने वा पठाउन लगाउने कार्य कानुनविपरीत रहेको स्पष्ट पारेका छन्।
नेपाल सरकारको सम्पत्ति शुद्धीकरण तथा अवैध वित्तीय लगानी निवारणसम्बन्धी कानुनी व्यवस्थाअनुसार विदेशमा रहँदा रकम अनौपचारिक माध्यमबाट पठाउने कार्य दण्डनीय हुने जनाइएको छ। दुवै दूतावासका अनुसार वैदेशिक रोजगारी, व्यापार वा अन्य प्रयोजनका लागि नेपाल पठाइने सम्पूर्ण रकम अनिवार्य रूपमा वैधानिक बैंकिङ प्रणालीमार्फत मात्र पठाउनुपर्ने व्यवस्था छ।
दक्षिण कोरियाबाट पठाइने विप्रेषणसम्बन्धी विवरण प्रत्येक नेपाली महिनाको २० गतेभित्र परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित निकायमा पठाइँदै आएको उल्लेख गरिएको छ। यूएईस्थित दूतावासले पनि यस्ता सूचनाबारे परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय तथा सरोकारवाला निकायलाई नियमित जानकारी गराउँदै आएको जनाएको छ।
सूचनामा दक्षिण कोरिया तथा यूएईमा कार्यरत कुनै पनि नेपाली व्यक्ति वा संस्थाले हुण्डी कारोबार गरे वा गराएको पाइएमा कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिइएको छ। साथै, यस्ता अवैध गतिविधिमा संलग्नको विवरण प्रमाणसहित सम्बन्धित दूतावासको इमेलमार्फत उपलब्ध गराइ सहयोग गर्न आग्रह गरिएको छ।
नेपाली दूतावासहरूले अवैध वित्तीय कारोबार निरुत्साहित गर्न दक्षिण कोरिया र यूएईमा रहेका सम्पूर्ण नेपाली समुदायसँग सहकार्यको अपिल गरेका छन्।

