Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

गुल्मीमा छोरीहरुले गरे कपाल काटेर आमाको काजकिरिया

गुल्मीमा छोरीहरुले गरे कपाल काटेर आमाको काजकिरिया

गुल्मी । नेपाली समाजमा हिन्दु धर्मावलम्बीहरुले परम्परा अनुसार बाबुआमाको मृत्यु हुँदा छोराले नै दागबत्ती दिने र काजकिरिया गर्ने प्रचलन रहेको छ । समाजमा बाबुआमाको मृत्युपश्चात् छोरीले दागबत्ती दिन हुन्न भन्ने परम्परा अहिले पनि रहेको छ तर गुल्मीमा भने छोरीहरुले आमाको किरिया गरेका छन् । गुल्मीको मालिका गाउँपालिका–८ दगास मैदान स्थित २ छोरीहरुले आमाको किरिया गरेका हुन् ।

मंसिर २८ गते ४४ वर्षीय शान्ती परियारको निधनपछि उनका दुई छोरीहरू सिर्जना परियार र सुष्मा परियारले कपाल काटेर आफैं आमाको काजकिरिया गरिरहेका छन् ।   ४४ वर्षीय शान्तीको २८ गते स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि बुटवल लैजाँदै गर्दा गुल्मीको गैंडाकोट क्षेत्रमा एम्बुलेन्समै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । काजकिरियाका क्रममा दुवै छोरी भावुक देखिएका थिए ।

उनीहरूले भने, “हामीलाई जन्म दिने आमाको अन्तिम संस्कार गर्ने अधिकार र कर्तव्य हाम्रो पनि हो। छोरा नहुँदैमा आमाको काजकिरिया अरूले गर्नुपर्छ भन्ने सोच गलत हो ।” परियारका चार छोरीमध्ये जेठी छोरी हाल विदेशमा रहेकी छन् भने माइली छोरीको विवाह भइसकेको छ। बाँकी दुई छोरीहरूले आमाको अन्तिम संस्कारको सम्पूर्ण जिम्मेवारी निर्वाह गरेका हुन्। हिन्दु धर्म संस्कार अनुसार छोरा मात्र किरिया बस्नुपर्छ भन्ने मान्यतालाई अस्विकार गर्दै उनिहरु किरिया बसेका हुन् । 


स्थानीयवासीहरूका अनुसार छोरीहरूले कपाल काटेर काजकिरिया गरेको दृश्यले उपस्थित धेरैलाई भावुक बनाएको थियो । यस कदमलाई लैंगिक समानता, सामाजिक रूपान्तरण र चेतनाको उदाहरणका रूपमा हेरिएको छ । यो घटनाले छोरीहरू पनि छोरा सरह जिम्मेवारी, अधिकार र कर्तव्य निर्वाह गर्न सक्षम छन् भन्ने सन्देश दिएको भन्दै खुलेर प्रशंसा भइरहेको छ ।