Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा सुरु, स्थानीयलाई सहज

थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा सुरु, स्थानीयलाई सहज

काठमाडौँ । म्याग्दे गाउँपालिका–४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएको छ। बिहीबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले केन्द्रको उद्घाटन गर्दै अब स्थानीय नागरिकले गाउँमै प्रभावकारी आँखा उपचार सेवा पाउने बताए।

दमौली वा पोखरा जानुपर्ने बाध्यता हटाउन हिमालय आँखा अस्पताल घारीपाटनसँग सहकार्य गरी सेवा सुरु गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। उनका अनुसार स्थानीयस्तरमै उपचार उपलब्ध हुँदा समय र खर्च दुवै बचत हुनेछ।

केन्द्र शुभारम्भको अवसरमा निःशुल्क आँखा परीक्षण शिविर पनि सञ्चालन गरिएको छ, जसमा विभिन्न वडाका सर्वसाधारणले सेवा लिएका छन्। उपचार केन्द्रका लागि आवश्यक उपकरण र प्राविधिक हिमालय आँखा अस्पतालले उपलब्ध गराएको छ भने अन्य व्यवस्थापन सहयोग म्याग्दे गाउँपालिकाले गर्नेछ।

सम्झौताअनुसार गाउँपालिकाले वार्षिक ६ लाख रुपैयाँ हिमालय आँखा अस्पताललाई उपलब्ध गराउनेछ भने बिरामीबाट संकलित शुल्क गाउँपालिकाको आम्दानीमा जाने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए।

केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आँखा उपचार केन्द्र सहयोग समिति गठन गरिनेछ। समितिमा थर्पु अस्पताल व्यवस्थापन समितिका अध्यक्ष संयोजक, एक समाजसेवी सह–संयोजक, सम्बन्धित वडाध्यक्ष, हिमालय आँखा अस्पतालका प्रतिनिधि, गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख तथा सदस्य सचिवका रूपमा थर्पु अस्पतालका प्रमुख रहने व्यवस्था गरिएको छ।