काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले आफू मन्त्री बनेपछि विदेश भ्रमणका लागि आएका निमन्त्रणा अस्वीकार गर्दै आएको बताएका छन्। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण विवादित बन्दै गएको सन्दर्भमा मन्त्री पुनले हालसम्म पनि दुईवटा विदेश भ्रमणका निमन्त्रणा आएको तर त्यसमा पनि नजाने बताएका हुन्।
इजरायल र साउदी अरबमा कार्यक्रमका लागि आएको निमन्त्रणापत्र फेसबुकमार्फत सार्वजनिक गर्दै मन्त्री पुनले देशको अर्थतन्त्र नसुधारेसम्म जोसुकै प्रधानमन्त्री वा अर्थमन्त्री आए पनि ठोस प्रगति नहुने बताएका छन्। उनले लेखेका छन्,
‘लौ जा ! म मन्त्री भएपछि पहिला पनि तीनवटा विदेश भ्रमणका निमन्त्रणा आए, तर गइनँ। अहिले पनि दुईवटा निमन्त्रणा आएका छन्, यसमा पनि जान्नँ। देशको अर्थतन्त्र नसुधारेसम्म जोसुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन, किनभने केही गर्न पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र बन्छ ?’
यता युवा तथा खेलकुदमन्त्री बनेका बब्लु गुप्ता भने अमेरिका उड्न नपाउँदै विवादमा परेका छन्। एकातर्फ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उनलाई कार्यक्रममा बोलाइएको भन्दै विज्ञप्ति जारी गरेको छ भने अर्कोतर्फ नबोलाइएको दाबी गर्दै अर्को विज्ञप्ति पनि सार्वजनिक भएको छ। यसबाट अमेरिका स्थित एनआरएनए विभाजित अवस्थामा रहेको देखिएको छ।
यसैबीच गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका का प्रवक्ता द्रोण गौतमले अर्को विज्ञप्ति जारी गर्दै युवा तथा खेलकुदमन्त्री गुप्ताको अमेरिका भ्रमणलाई लिएर सार्वजनिक रूपमा उठेका विभिन्न टीकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएका छन्। उनले युवा तथा खेलकुदमन्त्री केवल सरकारका एक सदस्य मात्र नभई विदेशमा बसोबास गर्ने नेपाली युवासहित सम्पूर्ण नेपाली समुदायका साझा मन्त्री भएको उल्लेख गरेका छन्। एनआरएनए नेपाली डायस्पोरालाई प्रतिनिधित्व गर्ने संस्था भएकाले उनलाई कार्यक्रममा बोलाइएको तर्क उनले प्रस्तुत गरेका छन्।
गौतमका अनुसार, नेपालको बदलिँदो राजनीतिक–सामाजिक परिस्थिति तथा पछिल्लो जेन्जी आन्दोलनपश्चात् उत्पन्न राष्ट्रिय अवस्था र सम्भावनाको सन्दर्भमा सरकारमा जेन्जीको प्रतिनिधित्व गर्दै मन्त्री गुप्ताले जिम्मेवारी सम्हालेकाले ‘Role of NRNA Youth in the Development of Nepal Post Gen-Z Revolution’ शीर्षकको अन्तरक्रियामा सहभागी हुन निमन्त्रणा गरिएको हो।
उनले उक्त कार्यक्रममा सहभागी हुन लाग्ने सम्पूर्ण खर्च आयोजक संस्थाले नै व्यहोर्ने निर्णय गरिएको र नेपाल सरकार वा राज्यलाई कुनै पनि प्रकारको आर्थिक भार नपर्ने स्पष्ट पारेका छन्। मन्त्री गुप्तालाई आगामी माघ ३ गते अमेरिकामा आयोजना हुने ‘जेन्जी क्रान्तिपछिको नेपालको विकासमा एनआरएनए युवाको भूमिका’ सम्बन्धी कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गरिएको छ। यसका लागि गत पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अमेरिका भ्रमणको अनुमति दिएको हो।