काठमाडाैं । विश्व बजारमा देखिएको अस्थिरताले नेपाली सुनचाँदी बजारमा प्रत्यक्ष प्रभाव पारेको छ । सोमबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनभन्दा ४ हजार १ सय रुपैयाँले बढी हो । यसअघि सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि उकालो लागेको छ । प्रतितोला ५ हजार १९५ रुपैयाँ पुगेको चाँदी अघिल्लो दिनको तुलनामा २०५ रुपैयाँ महँगिएको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५५० डलर र चाँदी ८३ डलर नाघेपछि नेपाली बजारमा मूल्य बढेको महासंघले जनाएको छ । महासंघका पदाधिकारीहरूका अनुसार अमेरिका र अन्य देशबीच बढ्दो राजनीतिक तथा आर्थिक तनावका कारण लगानीकर्ताहरू सुरक्षित लगानीको रूपमा सुन–चाँदीतर्फ आकर्षित भएका छन् । यही बढ्दो मागले मूल्यलाई नयाँ उचाइमा पुर्याएको हो ।
अन्तर्राष्ट्रिय कमोडिटी बजारको उतारचढावले नेपाली बजारमा सिधा असर गर्ने भएकाले निकट भविष्यमा मूल्य थप बढ्न सक्ने संकेत व्यवसायीहरू बताउँछन् ।