काठमाडौँ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा अन्तर्गतका सबै उपचार सेवा बन्द गर्ने निर्णय गरेको छ। अस्पताल प्रशासनका अनुसार, विगत लामो समयदेखि बीमा बोर्डले अस्पताललाई ४० करोड रुपैयाँ भुक्तानी दिन बाँकी राख्दा आर्थिक अवस्था दुरावस्थामा पुगेको छ।
अस्पतालले मासिक करिब ५ करोड खर्च व्यहोर्दा बीमा दाबीको केवल ५० प्रतिशत स्वीकृत हुँदै आएको र उपचार दरमा बोर्ड र अस्पतालबीच ठूलो अन्तर रहँदा घाटा लगातार बढेको जनाएको छ। सूचना अधिकारी डा. गोपाल सेढाईंका अनुसार, औषधि तथा स्वास्थ्य सामग्री आपूर्तिकर्तालाई पनि पाँच महिनादेखि भुक्तानी गर्न सकिएको छैन।
स्वास्थ्य बीमा बोर्डका अनुसार, देशभरका सूचीकृत स्वास्थ्य संस्थालाई ११ अर्बभन्दा बढी भुक्तानी बाँकी छ। यस कारण बिमित नागरिक उपचार सेवाबाट वञ्चित हुने जोखिम बढेको छ, र स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पर्ने अवस्था देखिएको छ।