Jul 25 2026 | २०८३, श्रावण ९ गते

Jul 25 2026 | २०८३, श्रावण ९ गते

नेपाली कांग्रेसमा झडप सुरु, निर्वाचन आयोगको निर्णयविरुद्ध देशव्यापी आन्दोलनको चेतावनी

नेपाली कांग्रेसमा झडप सुरु, निर्वाचन आयोगको निर्णयविरुद्ध देशव्यापी आन्दोलनको चेतावनी

काठमाडौँ । नेपाली कांग्रेस पार्टीभित्रको विवाद थप चर्किँदै जाँदा निर्वाचन आयोग बाहिर झडप सुरु भएको छ। निर्वाचन आयोगले गगन थापालाई सभापतिको मान्यता दिएमा शेरबहादुर देउवा पक्ष देशव्यापी आन्दोलनमा जाने तयारीमा जुटेको छ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको सम्भावित निर्णयविरुद्ध कडा प्रतिक्रिया जनाउँदै आवश्यक परे देशव्यापी आन्दोलनमा जाने स्पष्ट संकेत गरेका हुन्। खड्काले निर्वाचन आयोग लोकतान्त्रिक मूल्य र कानुनी प्रक्रियाअनुसार अघि बढ्ने विश्वास आफूहरूको भए पनि केही आशंका कायमै रहेको बताए।

“निर्वाचन आयोग गलत बाटोमा जान्छ भन्ने हामीलाई लाग्दैन, तर यदि आयोगले हामीले नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मान्यता दिएन भने कांग्रेस देशभर आन्दोलन गर्न तयार छ,” खड्काले भने। उनले आयोगले मान्यता नदिने अवस्था आए गाउँगाउँ र वडावडाबाट चारतारे झण्डा लिएर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

पार्टीको आह्वानमा सबै तहका कार्यकर्ता, संघ–संगठन र समर्थकहरूलाई आन्दोलनमा सहभागी हुन निर्देशन दिइएको पनि खड्काले जानकारी दिए। नेपाली कांग्रेसभित्र आधिकारिकता विवाद चर्किँदै गएको र निर्वाचन आयोगको निर्णय निर्णायक मोडमा पुगेको बेला खड्काको यो चेतावनी आएको हो। आयोगको आगामी निर्णयले पार्टीको नेतृत्व मात्र नभई मुलुकको राजनीतिक वातावरणमा समेत प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।

यसैबीच, निर्वाचन आयोग बाहिर नेपाली कांग्रेसका दुवै समूह नाराबाजीमा उत्रिएका छन्। रुख चिन्हको माग गर्दै दुवै समूहका समर्थकहरू आयोग बाहिर प्रदर्शनमा उत्रिएका हुन्। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा समूह निर्वाचन आयोगमा जाँदा शेरबहादुर देउवा पक्षले नाराबाजी गरेको थियो।

गगन थापा पक्ष आयोगबाट बाहिरिए लगत्तै छलफलका लागि देउवा पक्ष आयोग प्रवेश गरेको थियो। हाल देउवा पक्षले निर्वाचन आयोग बाहिर नाराबाजी गरिरहेको अवस्था छ।