काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता तोडेका कुलमान घिसिङलाई ठूलो राजनीतिक धक्का लागेको छ। घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका २० जना केन्द्रीय सदस्य रास्वपामै रहने निष्कर्षमा पुगेपछि उनलाई यो धक्का लागेको हो।
रास्वपासँग एकता गरेको केही दिनमै घिसिङले एकता तोडेपछि उज्यालो नेपाल पार्टीका धेरै नेताहरूले उनको साथ छाडेका छन्। रास्वपा र उज्यालो नेपालबीच भएको एकता जम्मा १२ दिनमै टुटेको थियो।
घिसिङकी विश्वासपात्र मानिएकी रिमा विश्वकर्माले समेत उनको साथ छाडेकी छन्। पार्टी एकतापछि उज्यालो नेपालबाट रास्वपाको बन्दसूचीमा दलित क्लस्टरको पहिलो नम्बरमा रहेकी विश्वकर्मा, उक्त सूचीबाट नहट्ने शर्तमा रास्वपामै समाहित भएकी हुन्। केही दिनअघि उनी रास्वपाको घन्टीघरस्थित कार्यालयमा समेत पुगेकी थिइन्। रास्वपाबाट समानुपातिक सांसद बन्ने उनको प्रबल सम्भावना रहेको बताइन्छ।
उज्यालो नेपालको केन्द्रीय कमिटीमा रहेका ९ जना ‘डाक्टर’मध्ये ६ जना रास्वपामै रहने भएका छन्। रास्वपा रोज्ने डाक्टरहरूमा उज्यालो नेपालका उपाध्यक्ष डा. ताराप्रसाद जोशी, डा. घनश्याम पाण्डे, डा. विशाल भण्डारी, डा. सागर ढकाल, डा. अभिषेकराज सिंह र डा. शंकर ढकाल रहेका छन्। उनीहरूमध्ये डा. अभिषेक र डा. घनश्याम पाण्डे मेडिकल डाक्टर हुन् भने अन्य चार जना पीएचडीधारी हुन्।
उज्यालो नेपाल छोडेर रास्वपा रोजेका अन्य केन्द्रीय सदस्यहरूमा सञ्जिब भट्टराई, निर्देश सिलवाल, मिनराज आचार्य, क्षितिज भण्डारी, नेत्रबहादुर कार्की, देवेन्द्र कुमार श्रेष्ठलगायत रहेका छन्। सञ्जिब भट्टराई र निर्देश सिलवाल विवेकशील साझाको पृष्ठभूमिबाट आएका नेता हुन्।
रास्वपा रोजेका अधिकांश नेताहरू प्रत्यक्षतर्फ टिकटको आकांक्षी रहेका छन्। उज्यालो नेपालबाट आएका नेताहरूलाई रास्वपाले अहिलेसम्म औपचारिक रूपमा व्यवस्थापन गरिसकेको छैन। रास्वपा नेतृत्वसँग आफूहरूको अनौपचारिक संवाद भइरहेको एक नेताले जानकारी दिएका छन्। ‘उहाँहरूको योग्यता र क्षमताअनुसार सम्मानजनक स्थान दिने आश्वासन रास्वपा नेताहरूले दिनुभएको छ,’ ती नेताले भने।
कुलमान घिसिङका अधिकांश नेताहरू रास्वपामै बस्नुलाई विशेष अर्थका साथ हेरिएको छ। घिसिङले रास्वपासँग एकता गर्दा पार्टीको नाम र चुनाव चिन्ह परिवर्तनलगायत विभिन्न माग राखेको बताइन्छ। अन्तरिम सरकारमा मन्त्रीसमेत भइसकेका घिसिङ हाल उज्यालो नेपाल पार्टीका अध्यक्ष हुन्। रास्वपासँगको एकता टुटेपछि उनले विभिन्न आरोपहरू लगाउँदै आएका छन्।