Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेन शाहको नयाँ चुनावी शैली: समूहगत भेटघाट र समयबद्ध संवाद

बालेन शाहको नयाँ चुनावी शैली: समूहगत भेटघाट र समयबद्ध संवाद

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं झापा–५ का उम्मेदवार बालेन शाहले आफ्नो चुनावी अभियानमा नयाँ शैली अपनाएका छन्। उनले व्यक्तिगत रूपमा कसैलाई नभेट्ने र केवल समूहमा मात्र भेटघाट गर्ने प्रणाली लागू गरेका छन्। प्रत्येक टोलीका लागि उनी अधिकतम १० मिनेट समय दिन्छन्, जसले मतदाता भेटघाटलाई व्यवस्थित र प्रभावकारी बनाउँछ।

बुधबार बिहानैदेखि बालेनले दमकमा घरदैलो र समूहगत भेटघाट शुरु गरेका छन्। अत्यधिक भिड र चापलाई मध्यनजर गर्दै, उनका सचिवालयले प्रत्येक समूहका लागि १० मिनेटको समय सीमा निर्धारण गरेको हो। काठमाडौँ महानगरपालिकाका पूर्व मेयर समेत रहेका बालेनलाई भेट्न स्थानीय मतदाताहरू उत्साहित देखिएका थिए। तर, बुधबारका भेटघाटहरू परिचयात्मक कार्यक्रममा मात्र सीमित रहेका छन्।

रास्वपा क्षेत्र नं. ५ का क्षेत्रीय संयोजक भेषराज भट्टराईका अनुसार बालेनको अभियान सुरु भइसकेको छ। हालसम्म आगामी चुनावी कार्यक्रमको विस्तृत तालिका सार्वजनिक गरिएको छैन। तथापि, झापापछि उनी पूर्वी नेपालको मोरङ, सुनसरी, इलाम, पाँचथर र ताप्लेजुङसम्म पुगेर अभियान चलाउने तयारीमा छन्।

स्थानीय सरकारको नेतृत्व छोडेर राष्ट्रिय राजनीतिमा प्रवेश गरेका काठमाडौंका पूर्व मेयर बालेन शाह र दशकौंसम्म सत्ता सम्हाल्दै आएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच झापा–५ यो पटक निर्वाचनको केन्द्रविन्दु बन्ने देखिन्छ। प्रतिनिधिसभा सदस्यको सिट जित्ने–हार्नेभन्दा बढी, पुरानो शक्ति र नयाँ आकांक्षाबीचको भिडन्त हुने निश्चित भएको छ।

नेपालको राजनीति अब नयाँ पुस्ताले सम्हाल्ने कि पुरानो पुस्ताको हातमा रहने—यस प्रश्नको उत्तर पाउन आउँदो प्रतिनिधिसभा निर्वाचनको नतिजासम्म प्रतीक्षा गर्नुपर्नेछ।