काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जनकपुरमा आयोजना गरेको सभामा बालेन शाहले दिएको “म मधेशको छौरो” भन्ने अभिव्यक्तिलाई लिएर प्रतिक्रिया जनाएका नेकपा एमालेका सचिव महेश बस्नेतले पछि माफी मागेका छन्।
बस्नेतले बिहीबार आफ्नो फेसबुकमार्फत स्पष्टिकरणसहित क्षमायाचना गर्दै उक्त विषयलाई गलत ढंगले प्रस्तुत गरिएको दाबी गरेका छन्। उनले बालेनको भनाइको सन्दर्भमा मैथिली भाषामा त्यसको अर्थबारे जिज्ञासा मात्र राखेको तर केही व्यक्तिले नियोजित रूपमा गलत प्रचार गरेको बताएका छन्।
उनले लेखेका छन्,"बालेन भाइले ‘म मधेशको छौरो’ भनेको सन्दर्भमा मैले मैथिली भाषामा त्यसको अर्थ के लाग्छ भनेर सोधेको विषयलाई केही व्यक्तिहरूले गलत नियतले प्रचार गरेको देखिन्छ। म मधेश, मैथिली भाषा, संस्कृति र पहिचानलाई सधैं सम्मान गर्ने व्यक्ति हुँ। मैले नबोलेका बिषयलाई गलत व्याख्या नगरिदिन अनुरोध गर्दछु। कसैले गलत अर्थ लगाएर फैलाएको प्रचारप्रति भ्रममा नपर्न सबैमा आग्रह गर्दछु। यस क्रममा कसैलाई अनजानमा चोट पुगेको भए म क्षमायाचना गर्दछु।"

यसअघि मंगलबार बालेनको उक्त अभिव्यक्तिको आलोचना गरेपछि बस्नेतको चौतर्फी विरोध र आलोचना सुरु भएको थियो।