काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहले चुनावमा ३१ लाख रुपैयाँ खर्च गर्न पाउँने भएका छन् । झापा ५ बाट उम्मेदवार बनेका ओली र शाहका लागि निर्वाचन आयोगले खर्चको सीमा तोकिदिएको हो । यस्तै रुकुम पूर्वबाट उम्मेदवारी दिएका पुष्पकमल दाहाल (प्रचण्ड)ले चुनावका लागि २७ लाख रुपैयाँसम्म खर्च गर्न पाउँने भएका छन् ।
यो खर्च पनि निर्वाचन आयोगले तोकिदिएको खर्चको सीमा हो । यता गोरखा– २ बाट उम्मेदवार बनेका डा. बाबुराम भट्टराईले चुनावका लागि २९ लाख रुपैयाँ खर्च गर्न पाउँने भएका छन् । रौतहट– १ बाट उम्मेदवार बनेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले २९ लाख रुपैयाँ खर्च गर्न पाउँने निर्वाचन आयोगले जनाएको छ ।
सभापति बनेलगत्तै चुनावी मैदानमा उत्रिएका कांग्रेसका युवानेता गगनकुमार थापा यसपटक साविकको निर्वाचन क्षेत्र काठमाडौं– ४ छोडेर सर्लाही– ४ झरेका छन् । थापाले चुनावका लागि अधिकतम २९ लाख रुपैयाँ खर्च गर्न पाउँने छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको सीमा र विवरण बुझाउन निर्वाचन आयोगले तोकेको खर्चको हदभित्रै रहेर प्रचारप्रसार, चुनावी अभियान सञ्चालन गर्नुपर्ने व्यवस्था छ ।