काठमाडौँ । सुनको मूल्य नेपाली बजारमा असाधारण रूपमा बढ्दै नयाँ उचाइमा पुगेको छ। शुक्रबार सुनको भाउ पहिलो पटक प्रतितोला ३ लाख रुपैयाँ पार गर्दै ऐतिहासिक रेकर्ड कायम भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य एकैचोटि ९ हजार २ सय रुपैयाँले बढेको हो। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीव्र रूपमा बढ्दा यसको सीधा असर नेपाली बजारमा देखिएको हो। महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ९५० अमेरिकी डलर नाघिसकेको जानकारी दिए।
उनका अनुसार अमेरिका केन्द्रित राजनीतिक तथा आर्थिक गतिविधिका कारण विश्वव्यापी अनिश्चितता बढेको छ। सम्भावित द्वन्द्वको संकेत देखिएपछि विभिन्न मुलुकका केन्द्रीय बैंकहरूले सुरक्षित लगानीका रूपमा सुन खरिद बढाएका छन्, जसका कारण मागसँगै मूल्य चर्किएको हो।
यसको असर चाँदीको मूल्यमा पनि देखिएको छ। शुक्रबार चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनभन्दा ३२० रुपैयाँ बढी हो। बिहीबार चाँदी प्रतितोला ५ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।