Shares
Shares
काठमाडौँ । रवि लामिछाने र बालेन शाह एकढिक्का भएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अघि बढाएसँगै देश–विदेशमा रहेका नेपाली समर्थकहरू निकै उत्साहित बनेका छन्। चुनावलाई नै ‘घण्टीमय’ बनाउने लक्ष्यसहित रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकहरू सक्रिय रूपमा जुटिरहेका छन्।
बालेन शाहलाई प्रधानमन्त्री बनेको देख्न चाहने नेपालीहरू विदेशका विभिन्न कुनाकाप्चामा बसोबास गरिरहेका छन्। अहिले देशभित्रका समर्थकहरू मात्र होइन, विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीहरू समेत रवि लामिछानेसहित सिंगो रास्वपा टिमलाई आगामी निर्वाचनमा सबै स्थानबाट जिताउने उद्देश्यका साथ लागिपरेका छन्। उनीहरूले सक्दो सहयोग पनि गरिरहेका छन्।
यसै सन्दर्भमा प्रवास नेपाली सम्पर्क विभाग मकाउअन्तर्गत उदय वाग्लेको नेतृत्वमा मकाउमा रहेका रास्वपाका समर्थकहरूले लाखौँ रुपैयाँ बराबरको आर्थिक सहयोग गरेका छन्। निर्वाचन लक्षित सामग्री (टोपी र गलबन्दी) खरिदका लागि करिब रु. १२ लाख बराबरको आर्थिक सहयोग रास्वपालाई प्रदान गरिएको सहयोग अभियानका संयोजक उदय वाग्लेले जानकारी दिएका छन्।
सपनाको भारी बोकेर विदेशी भूमिमा पसिना बगाइरहेका मकाउस्थित प्रवास नेपाली सम्पर्क विभागमा आबद्ध विशेषगरी रास्वपाप्रेमी तथा देशप्रेमी नेपालीहरूले उक्त सहयोग रास्वपाका नेता डोलप्रसाद अर्याललाई हस्तान्तरण गरेका हुन्। हस्तान्तरण कार्यक्रममा जटिल परिस्थितिमा हुन लागेको निर्वाचनका समयमा उदय वाग्ले नेतृत्वको टिमले देखाएको आत्मीयता, विश्वास र सहयोगले विदेशमा पनि रास्वपाप्रतिको क्रेज कस्तो छ भन्ने स्पष्ट देखाएको सहभागीहरूले बताएका छन्।
यस प्रकारको सहयोगले नेपाली मन, आपसी माया र एकताको उदाहरण प्रस्तुत गरेको छ। आवश्यकता परे कठिन परिस्थितिमा पनि रास्वपालाई सहयोग गर्न मकाउका नेपालीहरू तयार रहेको जनाइएको छ। प्रवास नेपाली सम्पर्क विभाग मकाउले रास्वपाको सिंगो टिमप्रति ठूलो आशा र भरोसा रहेको पनि जनाएको छ।
केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित कार्यक्रममा “राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास सम्पर्क विभाग”का केन्द्रीय सचिव पदम राज पन्तीको रोहवरमा मकाउको तर्फबाट प्रतिनिधित्व गर्दै, सात वर्ष मकाउमा कार्यरत तथा पछिल्ला पाँच वर्षदेखि नेपालमै रहँदै हाल डा. स्वर्णिम वाग्लेका स्वकीय सचिवसमेत रहेका सुशील खनालले डोलप्रसाद अर्याललाई उक्त सहयोग हस्तान्तरण गरेका थिए।
प्रवास नेपाली सम्पर्क विभाग मकाउको यस सहयोगप्रति रास्वपाले पनि उदय वाग्लेसहित सिंगो टिमलाई धन्यवाद व्यक्त गरेको छ। एक विज्ञप्तिमार्फत रास्वपाले भनेको छ—
फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी प्रवास नेपाली सम्पर्क विभाग–मकाउका साथीहरूको समन्वय र सहकार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीले लिएको नीति र विधिप्रति विश्वास राखी निर्वाचन सामग्री (क्याप २८०० थान र गलबन्दी १००० थान) खरिदका लागि करिब रु. १२ लाख बराबरको आर्थिक सहयोग प्रदान गर्नुभएकोमा प्रवास विभाग मकाउको टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। तपाईंहरूको योगदानले हाम्रो उद्देश्य प्राप्तिलाई थप मजबुत बनाएको छ र जिम्मेवारीका साथ अघि बढ्न प्रेरणा दिएको छ। यस सहयोगप्रति हामी सदैव आभारी रहनेछौँ र भविष्यमा पनि यस्तै सद्भाव र सहयोगको अपेक्षा गर्दछौँ।
उक्त विज्ञप्तिमा रास्वपाका विभाग प्रमुखसमेत रहेका नेता डोलप्रसाद अर्यालको हस्ताक्षर रहेको उल्लेख गरिएको छ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209