काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिम पुग्ने क्रममा सामाजिक सञ्जालमा एक स्ट्याटस सार्वजनिक गरेका छन्। हिउँले ढाकिएको पहाडमा उभिएको तस्बिर पोस्ट गर्दै उनले “सुदुर अब दुर नाई, झिकै झिकै माया तम्लाई !” भन्ने भाव व्यक्त गरेका छन्। तस्बिरमा उनी पश्चिमको हिउँमा रमाइरहेको देखिन्छन्।
बालेनले करिब आधा घण्टाअघि पोस्ट गरेको उक्त तस्बिरमा अहिलेसम्म करिब १ लाख ८० हजार लाइक र २७ हजार कमेन्ट आइसकेका छन्। पश्चिमका समर्थकहरूले “हाम्रो सुदूरमा स्वागत छ” भन्दै प्रतिक्रिया जनाइरहेका छन्।
पूर्वी पहाडी जिल्लाहरूमा घरदैलो तथा चुनावी प्रचार सकेर सुदूरपश्चिम प्रवेश गरेका बालेन शाह बर्दिया, कैलाली र कञ्चनपुरमा चुनावी कार्यक्रम सम्पन्न गरी हाल डडेलधुराको यात्रामा छन्। डडेलधुरा पुगेका बालेनले त्यहाँको प्रसिद्ध बाजेको खीर पसल मा खीर खाँदै गरेको फोटो तथा भिडियोहरू पनि सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। यही क्रममा उनले सुदूरपश्चिम यात्रासम्बन्धी तस्बिर र स्ट्याटस आफैंले सेयर गरेका हुन्।
झापा–५ बाट उम्मेदवारी दर्ता गराएका बालेन शाह केपी ओलीसँग चुनावी प्रतिस्पर्धामा छन्। हाल उनी देशदौडाहामा सक्रिय छन्। जनकपुरबाट चुनावी प्रचार सुरु गरेका उनले झापा, जनकपुर, इलाम, पाँचथर हुँदै कर्णालीसम्म पुग्ने तयारी गरेका छन्। उनी जुन–जुन जिल्लामा पुगेका छन्, त्यहाँ जनताको उल्लेखनीय साथ र समर्थन पाइरहेका छन्। यस कारण अहिले देश नै बालेनमय बनेको टिप्पणी हुन थालेको छ। अन्य पार्टीका नेताहरू उनको लोकप्रियताका कारण ओझेलमा परेको देखिन्छ।
रास्वपाले पनि बालेन शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै चुनावी मैदानमा उत्रिएको छ।
यता बालेन शाहका लागि भोट माग्न उनकी श्रीमती सबिना काफ्ले पनि गाउँ–गाउँ पुग्न थालेकी छन्। मेयर पदका लागि पहिलोपटक उम्मेदवारी दिँदा उनी यसरी सार्वजनिक रूपमा देखिएकी थिइनन्। तर यसपटक भने सबिना काफ्ले पहिलोपटक आफ्ना श्रीमान्का लागि खुलेर चुनावी प्रचारमा सक्रिय भएकी छन्। उनको यो सक्रियतालाई धेरैले प्रशंसा गरेका छन्।
हाल सबिना काफ्ले बालेन शाहको उम्मेदवारी रहेको झापा–५ क्षेत्रमा महिला भेला कार्यक्रमहरूमा सहभागी भई चुनावी प्रचार गरिरहेकी छन्। बालेन शाह भने पूर्वका जिल्लामा अभियान सम्पन्न गरी अहिले सुदूरपश्चिमका विभिन्न जिल्लामा चुनावी कार्यक्रममा व्यस्त छन्।