Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपा सभापति रवि लामिछाने आज डिस्चार्ज हुने, स्वास्थ्य सामान्य रहेको अस्पतालको जानकारी

रास्वपा सभापति रवि लामिछाने आज डिस्चार्ज हुने, स्वास्थ्य सामान्य रहेको अस्पतालको जानकारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भइरहेको छ। काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत लामिछानेलाई अस्पतालका प्रवक्ता डा. गोपालप्रसाद सेढाईंले स्वास्थ्य सामान्य   भइसकेको बताउँदै डिस्चार्जको तयारी भइरहेको जानकारी दिएका छन्।

लामिछानेलाई खुट्टामा चोट लागेको थियो र त्यसपछि ‘सेलुलाइटिस’ भएको थियो। सेलुलाइटिस भनेको छालामा मात्र नभएर छालाभन्दा भित्रको बोसोमा हुने संक्रमण हो। हाडजोर्नी विशेषज्ञहरूका अनुसार सामान्यतया चोटपटक लागेपछि बाहिरी किटाणु छालामा प्रवेश गर्दा यो समस्या देखा पर्छ।

चिकित्सकहरूले बताए अनुसार सेलुलाइटिस भएको स्थान रातो, सुन्निएको, तातो र दुख्ने लक्षण देखिन्छ। कतिपय अवस्थामा ज्वरो आउनु, थकान महसुस गर्नु, छालामा रातो दाग फैलिनु, पिप जम्नु वा छाला कस्सिएजस्तो देखिन सक्छ। तर यो रोग एन्टिबायोटिक औषधिबाट पूर्ण रूपमा निको बनाउन सकिन्छ। समयमै उपचार नभए संक्रमण रगतमा फैलिने जोखिम रहन्छ।

लामिछानेलाई माघ ५ गते जनकपुरमा आयोजित पार्टीको चुनावी सभामा सहभागी हुँदै गर्दा खुट्टामा चोट लागेको थियो। देब्रे खुट्टामा घाउ भएको र त्यो निको नभएर संक्रमण फैलिँदा उनलाई अस्पताल भर्ना गरिएको थियो। सुरुमा एन्टिबायोटिक औषधि प्रयोग गर्दा पनि निको नभएपछि हाडजोर्नी विभागमा भर्ना गरिएको थियो। उनलाई नसाबाट औषधि दिइएको थियो।

स्वास्थ्यमा समस्या आएपछि लामिछाने सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। चिकित्सकहरूले पूर्ण निको भएपछि मात्रै नियमित काममा फर्किन सल्लाह दिएका छन्। चोट आफैं गम्भीर नभए पनि संक्रमण फैलन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार लामिछाने पूर्ण उपचारपछि मात्रै राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने बताइएको छ।

चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेपछि लामिछाने सार्वजनिक कार्यक्रममा देखा परेका थिएनन्। अन्तिम पटक जनकपुर सभामा देखिएका उनी त्यसपछि बिरामी परेका थिए।