काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले उम्मेदवारी दिएको झापा क्षेत्र नम्बर ५ मा यसपटक रोचक र कडा चुनावी भिडन्त हुने देखिएको छ। देशका शीर्ष राजनीतिक नेता र चर्चित युवा नेताहरूबीचको प्रतिस्पर्धाले यो क्षेत्रको चुनावलाई थप चासोको विषय बनाएको छ।
काठमाडौँका पूर्व मेयर बालेन्द्र शाहको उम्मेदवारीले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गढ मानिने झापा–५ मा चुनावी सरगर्मी बढाएको छ। काठमाडौँको मेयर पदबाट राजीनामा दिएर झापा–५ बाट उम्मेदवारी दिएका बालेन केपी ओलीलाई पराजित गर्ने लक्ष्यसहित अहिले घरदैलो अभियानमा सक्रिय छन्।
यस क्षेत्रमा मुख्य प्रतिस्पर्धीका रूपमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली रहेका छन्। ओलीको गढ मानिने क्षेत्रमा रास्वपाबाट बालेनको प्रवेश भएपछि चुनावी माहोल निकै तातेको छ। त्यस्तै, नेपाली कांग्रेसबाट मन्दरा चिमरिया, नेकपाबाट रञ्जित तामाङ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी संग्रौलाले पनि उम्मेदवारी दर्ता गराएका छन्।
झापा–५ मा महिला उम्मेदवारको उपस्थिति भने न्यून देखिएको छ। कुल २४ जना उम्मेदवारमध्ये केवल ३ जना महिला उम्मेदवार—मन्दरा चिमरिया (कांग्रेस), रञ्जना गौतम (स्वतन्त्र) र शोभा भण्डारी (स्वतन्त्र)—मात्र प्रतिस्पर्धामा छन्। अनुभवी नेताहरू र नयाँ जोशका युवाबीचको यो प्रतिस्पर्धालाई मतदाताले चासोपूर्वक हेरिरहेका छन्।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरका साथ विजयी भएका थिए। उनले ५२,३१९ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३,७४३ मत ल्याएका थिए भने ओलीले २८,५७६ मतको फराकिलो अन्तरले विजय हासिल गरेका थिए। सोही निर्वाचनमा पहिलोपटक चुनावी मैदानमा उत्रिएको रास्वपाका उम्मेदवार सुरेशकुमार पोखरेलले ११,७५९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका थिए।
दशकौँदेखि केपी ओलीको प्रभाव रहेको झापा–५ मा यसपटक नयाँ शक्ति र नयाँ अनुहारहरू सक्रिय देखिएका छन्। स्थानीय मतदाताहरू पनि पुराना अनुहारभन्दा नयाँ विकल्पलाई मौका दिनुपर्ने धारणा व्यक्त गरिरहेका छन्। केही दिनअघि बालेनले झापामा घरदैलो कार्यक्रम सञ्चालन गर्दा जनताबाट राम्रो साथ र समर्थन पाएको बताइएको छ। बालेनपछि उनकी श्रीमती सबिना काफ्ले पनि हाल झापामा मतदाता भेटघाटमा सक्रिय छन्।
यसबीच धेरैले यसपटक बालेनले चुनाव जित्ने अड्कल गरिरहेका छन् भने केपी ओली पनि आफ्नै पार्टीले बहुमत ल्याउने दाबी गर्दै चुनावी मैदानमा मजबुत रूपमा उत्रिएका छन्। बालेनले प्रचार–प्रसारका लागि विज्ञ टोली खटाएपछि ओली पक्षले पनि सूचना प्रविधि विज्ञ परिचालन गरेर चुनावी प्रचार तीव्र बनाएको छ। बालेन र ओलीको चर्चाबीच अन्य उम्मेदवारहरू भने केही हदसम्म ओझेलमा परेका छन्।
अब आगामी फागुन २१ गते जनताले कसलाई विजयी बनाउनेछन् भन्ने टुंगो भने मतदानपछि मात्र लाग्नेछ।