काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि देश एक प्रकारको राजनीतिक शून्यतामा फसेको थियो। सडकमा आक्रोश थियो, राज्य संयन्त्र अस्थिर बनेको थियो र संविधान नै मासिने हो कि भन्ने डरले आम नागरिक त्रसित थिए। त्यसमाथि बाह्य हस्तक्षेपको आशंका थपिँदा नेपाल गम्भीर संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको थियो। त्यही अनिश्चित र भयावह समयमा एक्लो मियोका रूपमा उभिएका थिए—सुदन गुरुङ।
नागरिक सरकार गठनको बहस उत्कर्षमा रहँदा सुदन गुरुङका लागि सत्ता निकै नजिक थियो। चाहेको भए उनले आफूले चाहेको मन्त्रालय रोजेर मन्त्री बन्न सक्थे। राजनीतिक दृष्टिले त्यो उनको लागि ‘सुनौलो अवसर’ थियो। तर उनले त्यो अवसरलाई व्यक्तिगत लाभका रूपमा हेरेनन्। उनको प्राथमिकता पद होइन, जेनजी विद्रोहमा ज्यान गुमाएका दर्जनौँ सहिदहरूको चाहना थियो।
आन्दोलनपछि जनताले आशा गरेका, विश्वास गरेका र विवादरहित व्यक्तिहरूलाई सरकारमा ल्याएर समाधान खोज्ने भूमिकामा उनी उभिए। यही कारण उनले आफूलाई अघि नबढाई अरूलाई अघि सारे। यही निस्वार्थ निर्णय नै उनको राजनीतिक चरित्रको केन्द्रीय विशेषता बन्यो।
‘हामी नेपाल’ नामक संस्थामार्फत विभिन्न विपत्तिमा परेका नेपालीलाई सहयोग गर्दै आएका गुरुङ मूलतः नागरिक समाजमै सीमित व्यक्ति थिए। तर जेनजी विद्रोहपछिको राजनीतिक शून्यताले उनलाई मध्यस्थकर्ताको भूमिकामा ल्यायो। यदि उनी स्वार्थकेन्द्रित नेता हुन्थे भने आज मन्त्री पदमा आसिन हुन्थे। तर निस्वार्थ रूपमा नागरिक सरकार गठनमा ‘आर्किटेक्ट’को भूमिका खेलेपछि, उनी त्यही सरकारले समातेको निर्वाचनको बाटोमा आफैं उभिएका छन्।
सुदन गुरुङ दशकौँदेखि समाज सेवामा सक्रिय व्यक्ति हुन्। तर जेनजी विद्रोहले उनलाई सक्रिय राजनीतिमा होमिन बाध्य बनायो। उनका लागि शहरबाट चुनाव लड्नु र जित्नु तुलनात्मक रूपमा सहज थियो, तर उनले त्यो बाटो रोजेनन्। बरु उनले आफ्नो पुख्र्यौली थातथलो गोर्खा–१ रोजे—जहाँ उनका बाउबाजेले पनि समाज सेवा गरेका थिए। यो निर्णयले उनी ‘सजिलो जित’ भन्दा ‘नैतिक जरा’लाई प्राथमिकता दिने नेता भएको संकेत गर्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोर्खा–१ मा उम्मेदवार बनेका गुरुङ अहिले मतदाता भेटघाटमा व्यस्त छन्। भेटिएका मतदाताबाट उनले मत परिवर्तनको चाहना देखिएको संकेत पाएका छन्। लामो समयदेखि दोहोरिँदै आएको परम्परागत राजनीतिप्रति जनतामा बढ्दो असन्तोष र विकल्पको खोजीले उनको अभियानलाई थप बल दिएको देखिन्छ।
उनको योजना स्पष्ट छ—जनताकै मतको बलमा संसद् पुग्ने र सरकार सञ्चालनको तहसम्म पुगेर सुधारका एजेन्डा अघि बढाउने। र, त्यो योजनालाई मतदाताले सहज बनाइदिने विश्वास उनीसँग छ।
सुदन गुरुङ सत्ता राजनीतिबाट भागेका नेता होइनन्। उनी सत्तालाई कसरी र किन प्रयोग गर्ने भन्ने प्रश्नमा स्पष्ट दृष्टिकोण भएका नेता हुन्। जेनजी विद्रोहपछिको शून्यतामा उनले देखाएको भूमिका, नागरिक सरकार निर्माणमा खेलेको आर्किटेक्ट जिम्मेवारी र अहिले जनतामाझ फर्किएको राजनीतिक यात्रा—यी सबैले उनलाई सामान्य उम्मेदवारभन्दा फरक बनाएको छ।