काठमाडौँ । चुनावी माहोलबीच धरानका मेयर रहिसक्नु हर्क साम्पाङ्ग अब काठमाडौँमा सक्रिय छन्। आफ्नो लोकप्रियता बढाउने उद्देश्यसहित उनले राजधानीमा श्रम सेना गठन गर्दै धोबीखोलामा सरसफाइ अभियान सञ्चालन गराएका छन्।
साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका नेता–कार्यकर्तासँगै काठमाडौँ क्षेत्र नम्बर ४ का उम्मेदवार डा. वरुण अमात्यले पनि अभियानमा सहभागिता जनाएका छन्। पार्टीले यस अभियानमा संलग्न समूहलाई ‘श्रम सेना’को नाम दिएको छ।
फागुन २१ को चुनावका लागि साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराइसकेका छन्। २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र मेयर बनेका उनी, कार्यकाल पूरा गर्नु अघि नै राजीनामा दिएर संसदीय चुनावतर्फ लक्षित भएका हुन्।
खोटाङको खार्तम्छामा जन्मिएका साम्पाङले धरानमा शिक्षा लिएका हुन् र विदेशमा समेत केही समय बिताएका छन्। सामाजिक मुद्दा र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका उनी ‘मिसिङ हर्ट’ नामक एलबम पनि निकालिसकेका छन्। उनका सक्रियता र फरक शैलीले राजधानीमा नयाँ चर्चा तानिरहेको छ।