काठमाडौँ । नेपाली सुनचाँदी बजारमा मूल्य घट्ने क्रम सोमबार पनि रोकिएको छैन। पछिल्ला तीन दिनयता सुनको भाउ तीव्र रूपमा ओरालो लाग्दा लगानीकर्ता र व्यवसायी दुवै सतर्क देखिएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १३ हजार ४ सय रुपैयाँले घट्दै २ लाख ८६ हजार ६ सय रुपैयाँमा झरेको छ। यसअघि आइतबार सुन प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबारदेखि सुरु भएको गिरावट निरन्तर जारी रहँदा तीन दिनमै सुनको मूल्य प्रतितोला ५२ हजार ७ सय रुपैयाँले घटिसकेको महासंघले जनाएको छ। शुक्रबार २० हजार ५ सय, आइतबार १८ हजार ८ सय र सोमबार १३ हजार ४ सय रुपैयाँले सुन सस्तिएको हो।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला ५ हजार ५ सय रुपैयाँ रहेको चाँदी सोमबार ३ सय रुपैयाँले घटेर ५ हजार २ सय रुपैयाँमा झरेको छ।
अन्तर्राष्ट्रिय बजारको उतारचढावको प्रभावले घरेलु बजारमा समेत सुनचाँदीको मूल्य दबाबमा परेको व्यवसायीहरूको भनाइ छ।