काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले पूर्वी नेपाल केन्द्रित अभियानलाई निरन्तरता दिँदै बुधबार बिहान मोरङको विराटनगर पुगेका छन्। बिहान करिब १० बजे गाडीमार्फत विराटनगर आइपुगेका उनले केही समय स्थानीयसँग भेटघाट र अभिवादन गरेपछि सुनसरीतर्फ प्रस्थान गरे।
विराटनगरमा रहँदा उनले समर्थकको हातबाट घण्टी लिएर गाडीको छतमा उभिँदै हात हल्लाएका थिए। करिब २० मिनेटजति मात्र त्यहाँ रोकिएर उनी सुनसरीतर्फ लागेका हुन्।
यसअघि बालेन पहिलो चरणमा झापा हुँदै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटासम्म पुगेर काठमाडौं फर्किएका थिए। दोस्रो चरणअन्तर्गत सोमबार पुनः झापा पुगेका उनले मंगलबार झापा–५ का मतदातासँग दिनभर भेटघाट गरेका थिए। बुधबार बिहान भने उनी मोरङको उर्लाबारीबाट सुनसरी हुँदै उदयपुरसम्मको यात्रामा निस्किएका छन्।