Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दुर्गा प्रसाईं पुनः प्रहरी नियन्त्रणमा, पक्राउको कारण अझै गोप्य

दुर्गा प्रसाईं पुनः प्रहरी नियन्त्रणमा, पक्राउको कारण अझै गोप्य

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि एक पटक प्रहरीले पक्राउ गरेको छ। यसपटक उनलाई कुन कारणले नियन्त्रणमा लिइएको हो भन्ने विषय भने प्रहरीले सार्वजनिक गरेको छैन।

नेपाल प्रहरीले प्रसाईंलाई केही समयअघि काठमाडौंको चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको हो। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईं यसअघि माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए। त्यसअघि उनलाई विभिन्न विषयमा अफवाह फैलाएको आरोपमा पोखराबाट पक्राउ गरिएको थियो।

पोखरा लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरेर फर्किने क्रममा पक्राउ परेका प्रसाईंमाथि निर्वाचन आयोगविरुद्ध गम्भीर आरोप लगाएको विषय पनि विवादमा आएको थियो। कांग्रेसको आधिकारिकता विवादमा पैसा लिएर निर्वाचन आयोगले निर्णय गरेको दाबी गरेपछि आयोगले कारबाहीको माग गर्दै साइबर ब्युरोमा पत्राचार गरेको थियो। त्यस्तै, सरकारी वेबसाइट ह्याक गरी डाटा चोरी गर्ने योजनामा लगानी गरेको आरोप र त्यससम्बन्धी अडियो सार्वजनिक भएपछि उनी थप विवादमा तानिएका थिए।

पटक–पटक विवाद र पक्राउमा परिरहने प्रसाईं कुनै समय नेकपा एमालेका केन्द्रीय सदस्य थिए। उनी एक समय एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैसँग नजिक मानिन्थे। तर हाल उनी ती नेताहरूसँग टाढिएका छन्। पहिले माओवादी र पछि एमालेमा आबद्ध भएका प्रसाईं अहिले भने गणतन्त्रविरोधी धारणा राख्दै हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा खुलेर देखिन थालेका छन्।

ओली र प्रचण्डलाई आफ्नै घरमा मार्सी चामलको भात खुवाएको तस्बिर सार्वजनिक भएपछि उनी एकाएक राष्ट्रिय चर्चामा आएका थिए।