काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा बहुमूल्य धातुको भाउ घटेको छ। आइतबार उच्च वृद्धि देखिएको सुनको मूल्य सोमबार भने घटेर तल झरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन अर्थात् आइतबार सुन ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यसरी एकैदिनमा सुनको मूल्य ३ हजार रुपैयाँले घटेको हो।
यस्तै, चाँदीको भाउ पनि ओरालो लागेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ८ सय ६० रुपैयाँमा निर्धारण गरिएको छ, जुन आइतबारको ४ हजार ९ सय ८५ रुपैयाँको तुलनामा १ सय २५ रुपैयाँले कम हो।
अन्तर्राष्ट्रिय बजारको प्रभाव, विनिमय दरमा हुने उतारचढाव र स्थानीय माग–आपूर्तिको अवस्थाले सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन आउने व्यवसायीहरू बताउँछन्।