काठमाडौँ । दिनेश हुमागाईँले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका छन्। बागमती प्रदेश उपसभापतिको जिम्मेवारीमा रहेका उनले आजदेखि साधारण सदस्यसमेत नरहने गरी महामन्त्रीसमक्ष राजीनामा घोषणा गरेका हुन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे–२ बाट उम्मेदवार बनेका हुमागाईँले राजीनामा पत्रमार्फत पार्टी छाड्नुका सात कारण सार्वजनिक गरेका छन्। उनले उम्मेदवार छनोटमा चरम आर्थिक चलखेल भएको, केन्द्रीय संरचना विस्तार, सदस्यता वितरण तथा आर्थिक व्यवस्थापनमा अपारदर्शिता देखिएको आरोप लगाएका छन्।
उम्मेदवार चयन प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै उनले लामो समयदेखि समर्पित कार्यकर्तालाई पाखा लगाएर अन्य दलबाट हालै प्रवेश गरेका व्यक्तिलाई प्राथमिकता दिइएको दाबी गरेका छन्। केही दिनअघिसम्म असम्बन्धित पेशामा संलग्न र ‘चर्चित’ छवि बनाएका व्यक्तिलाई स्वार्थका आधारमा उम्मेदवार बनाइएको आरोपसमेत उनले लगाएका छन्।