काठमाडौँ । बाराको आदर्श कोतवाल–१ मा रहेको श्री नेरा आधारभूत विद्यालयको खाजा पकाउने ग्यास चूल्हो र भाँडाकुँडा नेपाली कांग्रेसको चुनावी कार्यक्रममा प्रयोग गर्न लैजाँदै गर्दा स्थानीयले बीच बाटोमै रोकेका छन्।
स्थानीयका अनुसार विद्यालयका कार्यालय सहयोगी सामग्री बाहिर लैजाँदै थिए। सो विषयमा चासो राखेर रोक्दा शिक्षक नवल किशोर साहले नेताहरूका लागि चिया पकाउन सामग्री ल्याउन निर्देशन दिएको खुलासा भएको बताइएको छ।
प्रधानाध्यापक सुरेश पण्डितले विद्यालयको सामान पार्टी कार्यक्रममा लैजान खोजिएको स्वीकार गर्दै स्थानीयको विरोधपछि सामग्री फिर्ता गरेर पुनः विद्यालयमै राखिएको जानकारी दिए। सार्वजनिक बिदाका कारण आफू तत्काल जानकारीमा नरहेको र पछि विद्यालय व्यवस्थापन समितिका अध्यक्षमार्फत खबर पाएपछि सामान फिर्ता गर्न लगाइएको उनले बताएका छन्।
स्थानीयले भने विद्यालयको सम्पत्ति पटक–पटक दुरुपयोग हुने गरेको आरोप लगाएका छन्। सार्वजनिक शैक्षिक संस्थाको सामग्री राजनीतिक प्रयोजनमा प्रयोग गर्न खोजिएको घटनाले समुदायमा असन्तोष र प्रश्न उब्जाएको छ— “विद्यालयको सम्पत्तिको दुरुपयोग गर्ने अधिकार कसलाई छ?”