काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनमा १२५ सिट जित्दै ऐतिहासिक सफलता हासिल गरेसँगै अर्को नयाँ रेकर्ड पनि बनाएको छ। फागुन २१ मा भएको निर्वाचनमा रास्वपाका १३ जना महिला उम्मेदवार प्रत्यक्षतर्फ निर्वाचित भएका छन्, जुन नेपालको चुनावी इतिहासमै एउटै पार्टीबाट सबैभन्दा धेरै महिला विजयी भएको पहिलो घटना हो।
यस पटक देशभरबाट कुल १४ जना महिला उम्मेदवार प्रत्यक्षतर्फ निर्वाचित भएका छन्। तीमध्ये १३ जना रास्वपाबाट छन् भने एक जना मात्र नेपाली कांग्रेस बाट निर्वाचित भएकी छन्। कांग्रेसबाट बासना थापा दैलेख जिल्ला–१ बाट १२ हजार ३७२ मत ल्याएर पहिलो पटक संसदमा प्रवेश गर्दैछिन्।
यस निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको प्रतिनिधित्व २३.१ प्रतिशत पुगेको छ, जुन अघिल्लो चुनावको १४.८५ प्रतिशतको तुलनामा ८.२५ प्रतिशतले बढी हो।
रास्वपाबाट निर्वाचित महिलाहरूमा इन्दिरा राना मगर, सोविता गौतम, रुविना आचार्य, निशा डाँगी, नीतिमा भण्डारी कार्की, तोसिमा कार्की, आशिका तामाङ, पुष्पाकुमारी चौधरी, बिना गुरुङ, कोमल ज्ञवाली, आशा झा, रन्जु दर्शना र गौरी कुमारी रहेका छन्।
यसपटक अन्य दलबाट महिलाको प्रतिनिधित्व निकै न्यून देखिएको छ। १८ सिट जितेको कांग्रेसबाट एक जना मात्र महिला निर्वाचित भएकी छन् भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १२ जना महिला उम्मेदवार उठाए पनि कसैले जित हासिल गर्न सकेनन्। त्यस्तै नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी लगायत अन्य दलबाट पनि प्रत्यक्षतर्फ कुनै महिला निर्वाचित हुन सकेनन्।
यसरी प्रत्यक्षतर्फ कुल १४ महिला सांसदमध्ये १३ जना रास्वपाबाट निर्वाचित हुँदा नयाँ संसदमा सबैभन्दा बढी महिला प्रतिनिधित्व पनि रास्वपाकै हुने निश्चित भएको छ।
यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ९ जना महिला निर्वाचित भएका थिए। त्यसबेला रास्वपाबाट सोविता गौतम र तोसिमा कार्की संसदमा पुगेका थिए भने अन्य केही दलबाट पनि सीमित महिलाको प्रतिनिधित्व भएको थियो।