काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारका लागि बोलाइएको सचिवालय बैठक निर्धारित समयभन्दा केही ढिला सुरु हुने भएको छ। बिहान बस्ने तय गरिएको बैठक प्राविधिक र व्यवहारिक कारणले केही समयपछि मात्र सञ्चालन हुने जानकारी पार्टीका प्रवक्ता मनिष झाले दिएका छन्।
उनका अनुसार पार्टी सभापति रवि लामिछाने स्वास्थ्य समस्याका कारण बैठकस्थलमा उपस्थित हुन नसक्ने भएकाले भर्चुअल माध्यमबाट बैठकमा सहभागी हुनेछन्। लामिछानेको स्वास्थ्य अवस्था अझै पूर्ण रूपमा सामान्य नभएकाले यस्तो व्यवस्था गरिएको प्रवक्ता झाले बताए।
त्यस्तै, केही सचिवालय सदस्यहरू पनि हालै सम्पन्न निर्वाचन अभियानपछि चिकित्सकको सल्लाहअनुसार आराममा रहेकाले बैठक व्यवस्थापनमा ढिलाइ भएको जनाइएको छ।
रास्वपाले भने समानुपातिकतर्फका उम्मेदवारहरूको सूची अन्तिम रूप दिएर आजै निर्वाचन आयोग मा बुझाउने तयारी गरेको जनाएको छ। आयोगले तोकेको समयसीमा भित्रै सूची बुझाइने पनि प्रवक्ता झाले स्पष्ट पारे।