Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आईजीपी दान कार्कीको प्रमुख आतिथ्यतामा कमाण्डो तालिमको दीक्षान्त

आईजीपी दान कार्कीको प्रमुख आतिथ्यतामा कमाण्डो तालिमको दीक्षान्त

काठमाडौँ । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा संचालित ११ औं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सोही महाविद्यालयमा बुधबार सम्पन्न भएको छ । 

समारोहमा प्रहरी महानिरीक्षक कार्कीले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रशिक्षक एवम् तालिम सफल पार्न उल्लेखनीय योगदान पुर्‍याउनु हुने महानुभावहरूलाई प्रशंसा पत्र प्रदान गर्नुभयो । सो अवसरमा उहाँले नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय परिसरमा नवनिर्मित “आर्म ब्याज” नमुना स्तम्भको अनावरण समेत गर्नुभयो । 

प्रहरी महानिरीक्षक कार्कीले सम्बोधनको क्रममा शारीरिक र मानसिक रूपमा कठिन तर गर्व गर्न लायक यस तालिमलाई सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा सम्पूर्ण प्रशिक्षार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । तालिमको दौरानमा आर्जन गरेका ज्ञान, सीप, कौशल, आत्मविश्वास र साहस देशको आन्तरिक सुरक्षा, विपद् तथा प्रकोपको उद्दार, आंतकवाद नियन्त्रण र विशिष्ट व्यक्तिको सुरक्षा लगायतमा कोसेढुङ्गा सावित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । तालिमको अवधिमा प्राप्त सीप र कौशल प्रहरीको व्यावसायिक जीवनमा मात्र नभई व्यक्तिगत जीवनका अन्य कैयौं पक्षमा समेत उपयोगी र लाभदायक हुने उल्लेख गर्दै दीक्षित सम्पूर्ण प्रशिक्षार्थीहरूलाई आगामी दिनमा अनुशासित जीवनलाई अवलम्बन गर्न समेत उहाँले निर्देशन दिनुभयो ।