Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

डाक्टर नहुँदा मुगुमा स्वास्थ्य सेवा ठप्प, बिरामी मारमा

डाक्टर नहुँदा मुगुमा स्वास्थ्य सेवा ठप्प, बिरामी मारमा

काठमाडौँ । स्वास्थ्य सेवा पहुँच विस्तारका सरकारी नीतिका बाबजुद दुर्गम क्षेत्रका नागरिक अझै आधारभूत उपचारबाट वञ्चित छन्। मुगु जिल्ला को खत्याड गाउँपालिका–११ स्थित रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि डाक्टर नहुँदा स्थानीयले गम्भीर सास्ती भोगिरहेका छन्।

स्वास्थ्य केन्द्रमा डाक्टर अभावका कारण बिरामीहरू सामान्य उपचारका लागि समेत टाढा–टाढा जान बाध्य छन्। गमगढी, नजिकका निजी मेडिकल तथा बाजुरा जिल्ला लगायतका स्थानमा पुग्नुपर्ने अवस्था रहेको छ।

स्थानीय धनराज कार्की जस्ता बिरामीहरू उपचार र सिफारिस नपाएर रित्तै फर्किनु परेको उदाहरण बढ्दो छ। उपकरण भए पनि जनशक्ति नहुँदा एक्स–रे, इसीजी, फिजियोथेरापी जस्ता सेवा पूर्ण रूपमा ठप्प छन्।

यसअघि खटिएका डाक्टरको अवधि सकिएपछि करिब एक महिनादेखि स्वास्थ्य केन्द्र डाक्टरविहीन छ। सीमित जनशक्तिले सेवा दिन नसकिरहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

स्वास्थ्य केन्द्रले सम्बन्धित निकायलाई जानकारी गराइसकेको भए पनि समस्या समाधान हुन सकेको छैन। स्थानीय तहले छिट्टै डाक्टर व्यवस्थापन गर्ने आश्वासन दिएको छ।

छिमेकी हुम्ला जिल्ला र बाजुराबाट समेत बिरामी आउने यस केन्द्रमा सेवा नपाउँदा नागरिकहरू उपचारविहीन फर्किन बाध्य छन्। दुर्गम क्षेत्रमा स्थायी रूपमा स्वास्थ्यकर्मी खटाउन स्थानीयले माग गरेका छन्।