Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नयाँ लहरका नेता: बालेन शाह विश्वका प्रभावशाली १०० भित्र

नयाँ लहरका नेता: बालेन शाह विश्वका प्रभावशाली १०० भित्र

काठमाडौं । परम्परागत राजनीतिमा चुनौती दिँदै उदाएका बालेन्द्र शाह (बालेन) लाई अमेरिकी म्यागजिन टाइमले सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समेटेको छ। प्रभावशाली नेताको श्रेणीमा उनी १४ औं स्थानमा परेका छन्।

३५ वर्षीय शाहलाई टाइमले युवा पुस्ताको विद्रोहको प्रतीक र उदाउँदै गरेको शक्तिशाली नेताका रूपमा चित्रण गरेको छ। अप्रिल १५ मा सार्वजनिक सूचीमा उनको उदयलाई दक्षिण एसियाको पुरानो र वंशवादी राजनीतिक संरचनाविरुद्धको बलियो संकेत मानिएको छ।

टाइमका अनुसार, जेन–जी पुस्ताले भ्रष्टाचारविरुद्ध देशभर आवाज उठाइरहेको समयमा शाहको उदय भएको हो। र्यापबाट पहिचान बनाएका इन्जिनियर शाहले काठमाडौंको मेयर हुँदा देखाएको कार्यक्षमताले नै उनलाई राष्ट्रिय नेतृत्वसम्म पुर्‍याएको उल्लेख गरिएको छ।

म्यागजिनले उनलाई Tupac Shakur र 50 Cent जस्ता र्यापरका प्रशंसकका रूपमा उल्लेख गर्दै स्थानीय तहमा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको सुधारलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने अपेक्षा गरिएको जनाएको छ।

फागुन २१ मा भएको आम निर्वाचनमा शाहको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा १८२ सिट जित्दै ऐतिहासिक सफलता हात पारेको थियो। उनले केपी शर्मा ओली लाई झापा–५ बाट भारी मतान्तरले पराजित गरेका थिए।

तीन वर्षअघि स्थापित पार्टीले ‘पुरानो पुस्ताको विस्थापन र सुशासन’ को नारासहित सत्ता सम्हाल्न सफल भएको छ। शाहप्रति नयाँ पुस्ताको आशा उच्च देखिन्छ।

यसअघि ‘सबै राजनीतिज्ञहरू चोर हुन्’ भन्ने टिप्पणी गरेका शाहले अब आफ्नै भनाइलाई गलत सावित गर्ने अपेक्षा जनतामा छ। टाइमले पनि नेपालीहरूले त्यही परिवर्तनको प्रतीक्षा गरिरहेको उल्लेख गरेको छ।

यस वर्षको सूचीमा Luke Combs, Keke Palmer र Jennie जस्ता अन्तर्राष्ट्रिय हस्तीहरू पनि समावेश छन्, जसले नेपालको राजनीतिक परिवर्तनप्रति विश्वको ध्यान केन्द्रित भएको संकेत गर्छ।