काठमाडौँ । रौतहटको सदरमुकाम गौरमा खेलौना पेस्तोल देखाएर सर्वसाधारणलाई डराइ लुटपाटको प्रयास गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार वैशाख २३ गते राति करिब ९:३० बजे गौर नगरपालिका–५ स्थित बी.पी. चोकमा सडकमा हिँडिरहेका व्यक्तिहरूलाई पेस्तोल देखाएर पैसा लुट्ने प्रयास भएको थियो।
उक्त घटनामा परोहा नगरपालिका–४ का २० वर्षीय शेख जवेर पक्राउ परेका हुन्। प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार जवेरले देखाएको वस्तु वास्तविक पेस्तोल नभई खेलौना भएको पुष्टि भएको छ। उनी मादक पदार्थ सेवनको अवस्थामा रहेको पनि अनुसन्धानमा खुलेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले यस्ता उच्छृङ्खल गतिविधिमा संलग्न जो कोहीलाई कानुनी कारबाही गरिने चेतावनी दिएको छ।