काठमाडौँ । जिल्ला प्रहरी कार्यालय रौतहटले पछिल्लो एक महिनामा अपराध नियन्त्रण, भन्सार छली रोकथाम तथा फरार प्रतिवादी पक्राउ अभियानमार्फत उल्लेखनीय सफलता हासिल गरेको छ। वैशाख महिनामा मात्रै प्रहरीले ४६ लाख २३ हजारभन्दा बढी राजस्व संकलन गरेको छ।
सीमा नाकाहरूमा कडाइ बढाएपछि अवैध रूपमा भित्र्याइएका लत्ताकपडा, खाद्यान्न र इलेक्ट्रोनिक्स सामग्रीसहित १३ वटा सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। ती सामानहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौरमा बुझाइएको छ।
यस अवधिमा विभिन्न मुद्दामा फरार रहेका ५७ प्रतिवादी पक्राउ परेका छन्, जसबाट अदालतद्वारा तोकिएको १७ वर्षभन्दा बढी कैद सजाय कार्यान्वयन गरिएको तथा ३२ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।
साथै, सामाजिक अपराधदेखि आर्थिक अपराधसम्मका विभिन्न प्रकृतिका मुद्दा दर्ता भई अनुसन्धान अघि बढाइएको छ भने समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत जनचेतनामूलक गतिविधि पनि सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।