Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक

नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२–८३ को वैशाख मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ४ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको वैशाख महिनाको मासिक प्रतिवेदन अनुसार यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत हुन आउँछ ।

चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रहेकोमा समीक्षा अवधिमा विनिमय दरमा भएको नोक्सानीसहित थप ३ खर्ब ९९ अर्बले वृद्धि भएको हो । हाल कायम कुल ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३.५७ प्रतिशत (१५ खर्ब ९३ अर्ब ८१ करोड) र आन्तरिक ऋणको हिस्सा ४६.४३ प्रतिशत (१३ खर्ब ८१ अर्ब २२ करोड) रहेको छ ।

लक्ष्यको ६१ प्रतिशत मात्र ऋण प्राप्ति


सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब ६६ करोड सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । तर, वैशाख मसान्तसम्ममा ३ खर्ब ६५ अर्ब १६ करोड मात्र ऋण प्राप्ति भएको छ, जुन वार्षिक लक्ष्यको ६१.३० प्रतिशत मात्र हो ।

ऋण प्राप्तिको प्रगतितर्फ आन्तरिक ऋण उत्साहजनक देखिए पनि वैदेशिक ऋण भने न्यून छ । आन्तरिक ऋण लक्ष्यको ८२.५० प्रतिशत (२ खर्ब ९८ अर्ब ६६ करोड) प्राप्त भइसकेको छ भने वैदेशिक ऋण लक्ष्यको केवल २८.४६ प्रतिशत (६६ अर्ब ४९ करोड) मात्र प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।

सरकारले वैशाख मसान्तसम्ममा ऋणको साँवा र ब्याज भुक्तानी (ऋण सेवा खर्च) का लागि २ खर्ब ९२ अर्ब ५२ करोड खर्च गरेको छ । यो रकम कुल गार्हस्थ्य उत्पादनको ४.४३ प्रतिशत हो ।

कुल ऋण सेवा खर्चमध्ये आन्तरिक ऋणको साँवा भुक्तानीमा १ खर्ब ८५ अर्ब ६६ करोड र ब्याज भुक्तानीमा ५० अर्ब ५२ करोड खर्च भएको छ । त्यसैगरी, बाह्य ऋणतर्फ ४६ अर्ब २५ करोड साँवा र १० अर्ब ६ करोड ब्याज भुक्तानी गरिएको छ । सरकारले यस वर्ष ऋण सेवाका लागि कुल ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन गरेकोमा वैशाखसम्म ७१.१७ प्रतिशत खर्च भइसकेको छ ।

प्रतिवेदन अनुसार यस अवधिमा वैदेशिक विनिमय दरमा भएको परिवर्तनका कारण १ खर्ब ६७ अर्ब ७५ करोड बराबरको विनिमय नोक्सानी (ऋण दायित्वमा वृद्धि) भएको देखिएको छ ।

यस्तै, वैशाख मसान्तसम्मको खुद ऋण परिचालन १ खर्ब ३३ अर्ब २३ करोड रहेको छ । सार्वजनिक ऋणमा भएको कुल वृद्धिमा खुद ऋण परिचालनको अंश ४४.२७ प्रतिशत रहेको छ भने वैदेशिक विनिमय घाटाको हिस्सा ५५.७३ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

मासिक तथ्यांक अनुसार वैशाख महिनामा मात्र सरकारले १५ अर्ब ८७ करोड ऋण प्राप्त गरेको छ भने सोही महिनामा २६ अर्ब ८१ करोड आन्तरिक र ११ अर्ब ५९ करोड बाह्य ऋणको भुक्तानी गरेको छ ।