काठमाडौँ । काठमाडौंदेखि झापासम्मका विभिन्न स्थानमा प्रहरीले लागूऔषधविरुद्ध अभियान चलाउँदै पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये केहीबाट ट्रामाडोल, गाँजा र ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौंको बल्खुबाट २४ वर्षीय प्रकाश दर्जी १४० ट्याब्लेट ट्रामाडोलसहित पक्राउ परेका छन् । यस्तै उदयपुरमा बोलेरो गाडी जाँच गर्ने क्रममा करिब ६ किलो गाँजासहित दुई महिला पक्राउ परेका छन् ।
सप्तरीमा १३ किलोभन्दा बढी गाँजासहित २१ वर्षीय विजय कुमार यादव पक्राउ परेका छन् भने घटनामा संलग्न अर्का एक व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।
उता झापाको कनकाई क्षेत्रमा ४ सय मिलिग्राम ब्राउनसुगरसहित ४३ वर्षीय चन्द्रबहादुर पौडेल पक्राउ परेका छन् । सबै घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।