काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले फोरजी सेवा विस्तार, डिजिटल पूर्वाधार निर्माण, डाटा सेन्टर सुदृढीकरण र साइबर सुरक्षामा लगानी सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।
संघीय संसदअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बोल्दै उनले डिजिटल पूर्वाधार विस्तार, दूरसञ्चार सेवाको गुणस्तर सुधार, डिजिटल अर्थतन्त्रको विकास र मिडिया नीतिलगायत क्षेत्रमा सरकार सक्रिय रूपमा काम गरिरहेको जानकारी दिए।
उनका अनुसार देशका सबै स्थानीय तहमा टुजी सेवा विस्तार भइसकेको र ७५० स्थानीय तहमा फोरजी सेवा पुगिसकेको छ। अब सेवा गुणस्तर सुधारसँगै दुर्गम क्षेत्रमा समेत पहुँच विस्तार गर्ने योजना रहेको उनले बताए।
मन्त्री तिमिल्सिनाले आगामी एक वर्षभित्र थप फोरजी साइट विस्तार, नेटवर्क अपग्रेड र पूर्वाधार सुदृढीकरणमार्फत इन्टरनेट सेवा प्रभावकारी बनाइने स्पष्ट पारे। त्यसपछि क्रमशः फाइभजीतर्फ अघि बढिने सरकारको योजना रहेको उनले बताए।
उनले ग्रामीण दूरसञ्चार विकास कोषलाई प्रभावकारी रूपमा उपयोग गर्ने, डिजिटल विभाजन अन्त्य गर्ने तथा नेपाललाई ‘टेक हब’ बनाउने लक्ष्यसहित डिजिटल पार्क, डाटा सेन्टर र सूचना प्रविधि निर्यात प्रवर्द्धन गर्ने नीति अघि सारिएको जानकारी दिए।