काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ देखिएपछि संक्रमित क्षेत्रका पन्छी तथा पन्छीजन्य सामग्री नष्ट गरेर संक्रमण नियन्त्रणको काम तीव्र पारिएको नगरपालिकाले जनाएको हो।
नगरपालिकाका अनुसार प्रभावित क्षेत्रमा रहेका कुखुरा, हाँस, बट्टाई, लौकाट लगायतका पन्छी, अण्डा र दाना सुरक्षित रूपमा नष्ट गरी खाल्डोमा गाड्ने तथा क्षेत्रलाई निसंक्रमण गर्ने कार्य भइरहेको छ।
संक्रमण थप फैलिन नदिन पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेशमा रोक लगाइएको छ। प्रवेश गर्नै परे अनिवार्य निसंक्रमण गर्नुपर्ने व्यवस्था लागू गरिएको छ। साथै, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नपाउने, प्रयोग गरिएका अन्डा क्रेट पुनः प्रयोग नगर्नुपर्ने तथा फार्म प्रवेशद्वारमा चुना वा निसंक्रामक औषधि प्रयोग गर्न निर्देशन दिइएको छ।
नगरपालिकाले खोरभित्र छुट्टै बुट र एप्रोन प्रयोग गर्न, दैनिक निसंक्रमण गर्न तथा फार्म क्षेत्रमा कुकुर, बिरालो र मुसा प्रवेश रोक्न पनि आग्रह गरेको छ। मरेका पन्छी तुरुन्त सुरक्षित रूपमा गाड्न र पन्छीजन्य उत्पादन ओसारपसार गर्दा भेटेरिनरी प्रमाणपत्र अनिवार्य लिनुपर्ने बताइएको छ।
त्यसैगरी, मासु र अण्डाजन्य परिकार राम्रोसँग पकाएर मात्र सेवन गर्न तथा ठूलो संख्यामा पन्छी बिरामी वा मृत भेटिए तत्काल नजिकको पशु सेवा शाखा वा स्थानीय तहमा जानकारी गराउन नगरपालिकाले अनुरोध गरेको छ।