Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दुर्गा प्रसाईँलाई अदालतबाट साधारण तारेखमा रिहा, अब बाहिरै बसेर मुद्दा लड्ने

दुर्गा प्रसाईँलाई अदालतबाट साधारण तारेखमा रिहा, अब बाहिरै बसेर मुद्दा लड्ने

काठमाडौँ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँ पर्सा जिल्ला अदालतको आदेशपछि मंगलबार हिरासतमुक्त भएका छन्।

थुनछेक बहसपछि न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले प्रसाईँलाई साधारण तारेखमा छाडेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको हो। अदालतको निर्णयसँगै उनले अब जेलबाहिरै बसेर कानुनी प्रक्रिया सामना गर्ने भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा डिएसपी हरिबहादुर बस्नेतले अदालतको आदेश प्राप्त भएपछि प्रसाईँलाई रिहा गरिएको पुष्टि गरेका छन्। मंगलबार सरकारी वकिल र प्रसाईँ पक्षका कानुन व्यवसायीबीच लामो समय थुनछेक बहस भएको थियो।

प्रहरीले प्रसाईँलाई गत मंगलबार वीरगन्जबाट पक्राउ गरेको थियो। उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराध तथा राज्यविरुद्धको कसूरसम्बन्धी मुद्दा दर्ता गरिएको छ। सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत भ्रम फैलाएको तथा राज्यको शान्ति सुरक्षा र प्रणालीमा असर पार्ने गतिविधि गरेको आरोप उनीमाथि लागेको छ।

पछिल्ला वर्षहरूमा दुर्गा प्रसाईँ आफ्नो राजनीतिक तथा सामाजिक अभियानका कारण चर्चामा रहँदै आएका छन्।