Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

मन्त्रालयमा प्रवेश गरी राष्ट्रसेवकलाई धम्क्याउने व्यक्ति काठमाडौं प्रहरी परिसरको नियन्त्रणमा,अनुसन्धान जारी

मन्त्रालयमा प्रवेश गरी राष्ट्रसेवकलाई धम्क्याउने व्यक्ति काठमाडौं प्रहरी परिसरको नियन्त्रणमा,अनुसन्धान जारी

काठमाडौं । सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालयमा अनधिकृत रूपमा प्रवेश गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने तथा हुलहुज्जत गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसरका प्रमुख रमेश थापा ले दिएको जानकारीअनुसार मिति २०८३ साल जेठ ११ गते अन्दाजी बिहान ११ः३० बजेको समयमा पूर्वसूचना तथा अनुमति बिना मन्त्रालयको सचिवको कार्यकक्षमा प्रवेश गरी अशान्त गतिविधि गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।


पक्राउ पर्नेमा जिल्ला कालिकोट साविक मान्म गाविस वडा नं. ५ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ बस्ने ३५ वर्षीय उपेन्द्र कुमार शाही रहेका छन्। प्रहरीका अनुसार शाहीले सचिवको कार्यकक्षमा अनधिकृत रूपमा प्रवेश गरी हुलहुज्जत गर्नुका साथै बाहिर जान आग्रह गर्दा अश्लील शब्द प्रयोग गर्दै धाकधम्की दिएको आरोप छ। उनले रकम माग गर्दै आपराधिक उपद्रवसमेत गरेको प्रहरीको भनाइ छ।


घटनापछि उनलाई नियन्त्रणमा लिइ काठमाडौं जिल्ला अदालतबाट “आपराधिक लाभ लिन नहुने” कसूरअन्तर्गत पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान अगाडि बढाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले सरकारी कार्यालयभित्र प्रवेश गरी राष्ट्रसेवकमाथि धाकधम्की, हुलहुज्जत तथा असुरक्षा सिर्जना गर्ने गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने बताउँदै कानुनविपरीतका गतिविधिमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारे।