Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

स्वास्थ्य बिमा कार्यक्रममा १८ अर्बभन्दा बढी दाबी बक्यौता, भुक्तानी ढिलाइले प्रणालीमै दबाब

स्वास्थ्य बिमा कार्यक्रममा १८ अर्बभन्दा बढी दाबी बक्यौता, भुक्तानी ढिलाइले प्रणालीमै दबाब

काठमाडौँ । सरकारले नागरिकलाई सहज र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउन सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम दाबी भुक्तानीको ठूलो बक्यौताले दबाबमा परेको देखिएको छ। चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँ विनियोजन गरिएको भए पनि अस्पताल र स्वास्थ्य संस्थामा समयमै भुक्तानी नहुँदा बक्यौता तीव्र रूपमा बढेको हो।

स्वास्थ्य, खाद्य तथा स्वच्छता मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म स्वास्थ्य बिमा कार्यक्रमका लागि सरकारले ११ अर्ब ७५ करोड रुपैयाँ प्राप्त गरेको छ। यस अवधिमा १२ हजार दाबी भुक्तानी गरिएको भए पनि ठूलो हिस्सा अझै फर्छ्यौट हुन बाँकी रहेको छ।

मन्त्रालयको प्रतिवेदनअनुसार हालसम्म स्वास्थ्य बिमा बोर्डअन्तर्गत करिब १८ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गर्न बाँकी छ। यो उच्च बक्यौताका कारण स्वास्थ्य संस्थाहरू आर्थिक दबाबमा परेका छन् र बिमित सेवामा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

मन्त्रालयले प्रणाली सुधारका लागि अनलाइन सेवा विस्तार, दोहोरो दाबी नियन्त्रण र वास्तविक विपन्न नागरिकसम्म सेवा सुनिश्चित गर्ने प्रयास भइरहेको जनाएको छ। तर, अर्बौं रुपैयाँको बक्यौता कायम रहँदा कार्यक्रमको दीर्घकालीन प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ।