काठमाडौँ । आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले ई–सिगरेट (भेप) को बढ्दो प्रयोग रोक्न कडा कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन्। उनका अनुसार धूम्रपान नियन्त्रण केवल कानुनले मात्र नभई उत्पादन, पैठारी र विज्ञापनमा कडाइ गरेर मात्र प्रभावकारी बनाउन सकिन्छ।
उनले सामाजिक सञ्जालमार्फत हुने विज्ञापनहरू पूर्ण रूपमा रोक्नुपर्ने र सार्वजनिक स्थानमा धूम्रपान गर्ने अभ्यासलाई सामाजिक रूपमा निरुत्साहित गर्नुपर्नेमा जोड दिए।
डा. उपाध्यायले गुट्खा र बिँडीजस्ता सुर्तीजन्य पदार्थ गाउँस्तरमै नियन्त्रण गर्न कठिन भइरहेको उल्लेख गर्दै समयमै कदम नचालिए भविष्यमा नियन्त्रण झन् जटिल हुने चेतावनी दिए।
पछिल्लो समय युवापुस्तासँगै महिलाहरूमा पनि ई–सिगरेटको प्रयोग फेसनका रूपमा बढ्दै गएको भन्दै उनले यसबारे थप अध्ययन र सचेतना आवश्यक रहेको बताए। साथै, “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने अवधारणालाई व्यवहारमा उतार्नुपर्ने उनको सुझाव छ।