राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका कार्यकर्ताले कलैया उपमहानगरपालिका अधिवेशनपछि गरिएको उपनिर्वाचन खारेज गर्न माग गरेका छन्। उनीहरूले अधिवेशन सम्पन्न भइसकेपछि विजयी घोषणा गरिएको नेतृत्वलाई पुनः मतदान गराइनु पार्टी विधान र लोकतान्त्रिक प्रक्रियाविपरीत भएको आरोप लगाएका छन्।
कार्यकर्ताका अनुसार २०८३ साल जेठ १७ गते सम्पन्न नगर अधिवेशनमा उमाशंकर रनिया १२४ मतसहित विजयी भएका थिए। निर्वाचनपछि उनको शपथग्रहणसमेत सम्पन्न भइसकेको अवस्थामा दुई दिनपछि सामाजिक सञ्जालको ह्वाट्सएप समूहमार्फत पुनः उपनिर्वाचन हुने सूचना जारी गरिएको समर्थक धिराज पटेलले जानकारी दिए।
उनका अनुसार उक्त सूचना कुनै आधिकारिक पत्र, हस्ताक्षर वा पद उल्लेख नभएको साधारण कागजमार्फत सार्वजनिक गरिएको थियो, जसप्रति कार्यकर्ताले आपत्ति जनाएका छन्।
कार्यकर्ताहरूले ‘५० प्रतिशतभन्दा बढी मत नपुगेको’ भन्ने आधार देखाएर पुनः निर्वाचन गरिएको भनिए पनि निर्वाचनकै दिन यो विषय किन नउठाइएको भन्दै प्रश्न गरेका छन्।
पटेलले निर्वाचन प्रतिनिधि र नेतृत्वले विधानको गलत व्याख्या गरेको, विजयी घोषणा भइसकेपछि पुनः निर्वाचन गरिनु अनुचित भएको दाबी गरेका छन्। उनले सीमित प्रतिनिधिबीच मात्र प्रक्रिया सम्पन्न गरिएको र अधिकांश वडा प्रतिनिधिलाई सहभागी हुन नदिइएको आरोप पनि लगाएका छन्।
पार्टी नेतृत्वसँग उनले उपनिर्वाचनको आधार सार्वजनिक गर्न, पारदर्शिता कायम गर्न तथा निष्पक्ष रूपमा प्रक्रिया अघि बढाउन माग गरेका छन्।