काठमाडौँ । निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारले अब प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य सेवा पाउने भएका छन्।
भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पतालको सेवा देशभर विस्तार गर्ने योजनाअनुसार प्रदेश अस्पतालमार्फत स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था सुरु गरेको हो।
पहिलो चरणमा मधेस प्रदेशका कर्मचारीले वीरगन्जस्थित नारायणी अस्पताल र बागमती प्रदेशका कर्मचारीले चितवनको भरतपुर अस्पतालबाट काठमाडौँको निजामती कर्मचारी अस्पतालसरह छुट र सहुलियतसहित उपचार सेवा पाउनेछन्। दुई अस्पतालसँग सम्झौता भएसँगै सेवा सोमबारदेखि लागू भएको मन्त्रालयले जनाएको छ।
सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले काठमाडौँ बाहिर कार्यरत कर्मचारी र उनीहरूका परिवारलाई सहज पहुँचमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था लागू गरिएको बताइन्।
सेवा लिन निजामती कर्मचारी वा अवकाशप्राप्त कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी गरिएको आधिकारिक परिचयपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ।
मन्त्रालयका अनुसार अन्य प्रदेशमा पनि सेवा विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ र छिट्टै देशभरका प्रदेश अस्पतालबाट यही सुविधा उपलब्ध गराइनेछ।