Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सिन्धुलीमा सम्पदा संरक्षण र पर्यटन विकासका लागि श्वेतपत्र सार्वजनिक

सिन्धुलीमा सम्पदा संरक्षण र पर्यटन विकासका लागि श्वेतपत्र सार्वजनिक

काठमाडौँ । सिन्धुलीको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण गर्दै दिगो पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘सिन्धुली सम्पदा संरक्षण र दिगो पर्यटन श्वेतपत्र–२०८३’ सार्वजनिक गरिएको छ। नागरिक स्तरबाट तयार गरिएको उक्त श्वेतपत्र सांसद आषिश गजुरेललाई हस्तान्तरण गरिएको हो।

श्वेतपत्रमा सिन्धुलीगढी, हरिहरपुरगढी र ऐतिहासिक ढुङ्गेबजार क्षेत्रमा भइरहेको अव्यवस्थित सिमेन्टकरण तथा व्यापारीकरण रोक्न माग गरिएको छ। साथै, पुराना ऐतिहासिक संरचनाहरूलाई मौलिक स्वरूपमै संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ।

दस्तावेजले सिन्धुलीगढी युद्धको वास्तविक विजय मितिलाई आधिकारिक मान्यता दिई ‘विजय दिवस’ मनाउने, सुनकोशीमा राफ्टिङ र डुङ्गा सफारी सञ्चालन गर्ने, चुरे क्षेत्रमा चरा अवलोकन ट्रेल निर्माण गर्ने तथा बीपी राजमार्गमा स्मार्ट हाटबजार सञ्चालन गर्ने प्रस्ताव अघि सारेको छ।

सांसद गजुरेलले सिन्धुलीको ऐतिहासिक पहिचान र पर्यटन सम्भावनालाई राष्ट्रिय नीति तथा बजेटमा समावेश गराउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

यसैबीच, जिल्लामा वर्षभर पर्यटन गतिविधि सञ्चालन गर्ने कार्ययोजना पनि सार्वजनिक गरिएको छ। योजनाअनुसार सिन्धुलीगढी विजय उत्सव, जुनार बगैँचा भ्रमण, साइक्लिङ कार्यक्रम, आतिथ्य तालिम तथा ‘वर्क फ्रम नेचर’ जस्ता कार्यक्रम सञ्चालन गरिनेछन्।